Sunday, 12 April 2026

भँगेरो

 ए हजुर म भँंगेरो  ! ! 

भवन नं तीन भुइतलाको बाहिर

फुटेको डोमलाईटको आलयमा

चिम निकालेर, तार काटेर हैन

धरोधर्म खाली देखेर बनाएको 

तपाईको दस्तखत परेका कागजात च्यातेर हैन

विल्कुल बटुलेर सिन्का, झीक्रा, त्यान्दात्रुन्द्रीहरु ।  


परैजावस् खोज्नू त ती 

बल्ब फुटाल्नेहरुलाई  

नगद ब्याउने मेसिनको आँगनमा 

गाढनु भो घामबत्तिको खाँमो 

खाँमोको भूडी त खाएछ छेपाराले ।


मलसाँप्रोहरु मेरो गुँणदेखेर भुतुक्क छन् । 

मैले के कसुर गरेँ, ऊर्जा तरङ्ग रोकेँ र?

नीतिनियमका पानामा विष्टाएँ र?

चिवेले झै घरमालिकलाई चकारेँ र ?

हेर्नुहोस त पल्लोपट्टी गिद्दको कत्रो महल

निबुवाटार, बलाँचका सुरुङ्गमा कोइलीको बँङ्गला

चापागाउँको टावरमा चमेरे हाउजिङ्ग

स्टेशन र खम्बामा अनगिन्ती

गिद्द, ढुक्कुर र लाटोकोसेरोका प्लटीङ्ग 

खै ! ! मस्र्याङ्गदीबाट सयौँजोडी चल्ला हुर्किएर उडे त ! ! !

विन्ती मेरो एकजोडी चल्ला यै गुँडमा हुर्काउँन पाऊँ 

यो गुँण मेरो मेहनत र पसिनाकोे हजुर 

बासको खोजिमा निर्मित 

न कुनै उपहार वा प्रायोजित ।


तपाईले नविनतम परिवर्तनको चिम फेरेर 

काला रात चिर्ने दुश्साहस गर्न सक्नुहुन्छ भने 

म बसाई सरुँला टोड्कोमा

अव बढाउनु पर्छ तपाईका कदम्

गिद्द, चमेरा र चिवेका

अनधिकृत गँुण भत्काउने तर्फ 

नेपाल उज्यालो पार्न फालामे डोरीमा 

कुद्न पाउनु पर्छ निर्वाध जलतरङ्गले ।


अनि म जस्ता भँगेरो, 

अविच्छिन्न हुने विद्युतीय प्रकाशमा 

संध्याकालिन विचरण गर्न सक्छन् उमंगले । 


—समाप्त—


No comments: