Tuesday, 30 June 2020

आसन

उस्को विगत,
लिखुरे काठका राम्रा बलिया टुक्रा
बर्म, रन्दा, बसिला र करौति प्रयोग गरी सिंकर्मीले
साधारण कपडाले फमलार्इ मोरेर
पछाडी डाढमा अडेस्ने राखेर चारपाटे बनायो कुर्सी

उस्का चारैहात खुट्टा सुकेनास लागेझै खिरिला
तालु सबैले समातेर घिसार्दा तान्दा
देखियो खुइलेर भित्रि गिदीसमेत
हातहरु कहिल्यै ननुहाएर मयल कटकटिएका
जुत्तै नभएर पैतालो कापा हिलोले खाएको
जोर्नी चरचर कराउने।

आज भोली,
आयातित धागो राखेर गमले टाँसेर मेशिनले खुट्दै
मुलायम छाला मखमलले मोरेर
लचकदार गद्दावाल छ

गाला पुक्‍क परेको जस्तो
सलक्‍क र मुलायम
बाक्लो शरिर
खुट्टा सुजाएजस्तो
मोटा बाघमुखे बुट्टा कुँदिएको
कुनै सुनौला हिरा जडित

खिरिलो छँदाको विगत म सबैका पछाडी
ऊ मन मनै सम्झन्छ,
अब कोही छैन म बराबर
म अग्रभागमा
मेरो पछाडी सबै
"भित्र भित्रै कोक्‍किएर हाँस्छ"
लिखुरे कुर्सीलार्इ दुत्कार्छ
विचरा निम्छराहरु
हि हि हि हि हि

हो,
उस्का पछाडी सबै, उ अग्रभागमा
प्रतिस्पर्धी छैन प्रथम छ उ
पछाडीको कसैले देख्दैन उसलार्इ
न उ पछाडी फर्केर हेर्छ

किन कि उस्को आसनमा
नेताज्यू राज होइबक्सन्छ।
किन कि उस्को आसनमा
नेताज्यू राज होइबक्सन्छ।

Tuesday, 16 June 2020

कोरोना फिङ्गल


अदृष्य
भाइरसको चपेटामा
छटपटिएर लुक्दै भाग्दै
मुखमा विर्को लगाई तर्सदै परपर सर्दैछ मानिस आफन्तसंगै

खैलाबैला छ
साना ठूला सबैको
व्याप्‍त छ कोलाहाल संसार भर
सास्तिदिँदै स्वास फेर्न बन्यो मुस्किल मानव सभ्यतालाई चुनौति

आउनोस्
नमस्कार गर्दै
जुटौं अस्तित्वको लडाइमा
दुरी कायम गरौं हामी बीच
नआत्ति सहयोग र सदभाव बढाउँ
बाचौँ र बचाऔं।

२०७७ जेष्ठ

Friday, 5 June 2020

हे!!! मानव

उफ् कति भनौ तिमीलार्इ एउटै बाणी

कृपया सुन्ने चेष्टा गर हे!!! मानव,

 

कोपरिएको शिरदेखि पाउसम्म

चिथोरिएको छ दाह्रा, नग्राले

चट्टाचट काटिएका तालुका रौं

दारी जुङा लुछिएका छन्

पत्रपत्र उक्कीएको छ छालाको

डडिसके कोषिकाहरु

पाचन प्रणाली खराव भएर

कहिले पखाला, कहिले कव्जियत
प्रतिरोधक क्षमता कम हुँदैछ मेरो

सकिँदैछ गुणकारी पाचन रसादी

स्वास फेर्न नसकेर निसासिएको छु

बिषाक्त ग्याँसको खारले

बिषादी झोल तरपरेको छ मेरो रगतमा

मासुमा छारिय, अम्लिय तत्व

अजंगका यन्त्रहरुको घर्षाहट र बारुदी विष्फोटमा

चोक्टा चोक्टा लिकालिएको छ लुछिएको छ

हड्डि थिल्थिलिएको

कतै कुड्का कुड्का

 

रगत, बोन्म्यारो, बायप्सी गर्न

सुइ घोपेका शरिर भरी

राता निला डाम

कतै खाल्डो पारिएको आलो घाउ

कतै टनटनी बाँधीएको पट्टी

स्वीकृती बिना पटक पटक

एम आर आइ, एक्सरे, सिटी, भिडीयो

अक्यूपन्चर, अंग प्रत्यापरोपण, सर्जरी, थेरापी

 

आदेश दिँदैछन् नेता, कर्मचारी

निकालेर मेरो शरिरको एण्टिबायोटिक

नसा नसामा बायोटिक घुसार्न

उद्दत छन् इन्जिनियर 

प्रत्येक वर्ष बढेको छ २˚(डिग्री)ले ज्वरो

निकोहुनु साटो बल्झिरहेछ रोग

चिट्चिट् पसिनाका बाढी आउँछ बेलाबेलामा

कहिले सिताङ्ग हुन्छु लुगलुग काम्छु

ध्वार ध्वार भएको छ दमले छाति

धरी बन्द हुन्छ पिसाव

राल सिँगान काट्दै छटपटीँदै छु पिडाले

कहिले रोकिने हो थाहा छैन यो मेरो चक्र

ममा आश्रृत भएको भुल्यौ तिमीहरुले!!!

हे!!! रगत तान्ने डाक्टर,

परिक्षण गर्ने बैज्ञानिक, खोप्ने ठोक्ने इन्जिनियर

खौरिने काट्ने हजाम, रस निकाल्ने रसायन शास्त्री,

आदेश दिने राजनितिज्ञ हो

होसियार !!!!

मेरी मृत्यु नजिकिँदै छ !!!!!

रहने छैनौ तिमीहरु

मेरो मृत्यु पछि

हुनेछ तिम्रै कारण मानव सभ्यताको बिनास

सम्पूर्ण जिव अस्तित्वको समाप्‍ति

सोच!!! बेलैमा

मेरो विन्ति छ !!!

पृथ्वी बचाउँ !!! पृथ्वी बचाउँ !!! पृथ्वी बचाउँ !!!

2077।02।२३