Friday, 5 June 2020

हे!!! मानव

उफ् कति भनौ तिमीलार्इ एउटै बाणी

कृपया सुन्ने चेष्टा गर हे!!! मानव,

 

कोपरिएको शिरदेखि पाउसम्म

चिथोरिएको छ दाह्रा, नग्राले

चट्टाचट काटिएका तालुका रौं

दारी जुङा लुछिएका छन्

पत्रपत्र उक्कीएको छ छालाको

डडिसके कोषिकाहरु

पाचन प्रणाली खराव भएर

कहिले पखाला, कहिले कव्जियत
प्रतिरोधक क्षमता कम हुँदैछ मेरो

सकिँदैछ गुणकारी पाचन रसादी

स्वास फेर्न नसकेर निसासिएको छु

बिषाक्त ग्याँसको खारले

बिषादी झोल तरपरेको छ मेरो रगतमा

मासुमा छारिय, अम्लिय तत्व

अजंगका यन्त्रहरुको घर्षाहट र बारुदी विष्फोटमा

चोक्टा चोक्टा लिकालिएको छ लुछिएको छ

हड्डि थिल्थिलिएको

कतै कुड्का कुड्का

 

रगत, बोन्म्यारो, बायप्सी गर्न

सुइ घोपेका शरिर भरी

राता निला डाम

कतै खाल्डो पारिएको आलो घाउ

कतै टनटनी बाँधीएको पट्टी

स्वीकृती बिना पटक पटक

एम आर आइ, एक्सरे, सिटी, भिडीयो

अक्यूपन्चर, अंग प्रत्यापरोपण, सर्जरी, थेरापी

 

आदेश दिँदैछन् नेता, कर्मचारी

निकालेर मेरो शरिरको एण्टिबायोटिक

नसा नसामा बायोटिक घुसार्न

उद्दत छन् इन्जिनियर 

प्रत्येक वर्ष बढेको छ २˚(डिग्री)ले ज्वरो

निकोहुनु साटो बल्झिरहेछ रोग

चिट्चिट् पसिनाका बाढी आउँछ बेलाबेलामा

कहिले सिताङ्ग हुन्छु लुगलुग काम्छु

ध्वार ध्वार भएको छ दमले छाति

धरी बन्द हुन्छ पिसाव

राल सिँगान काट्दै छटपटीँदै छु पिडाले

कहिले रोकिने हो थाहा छैन यो मेरो चक्र

ममा आश्रृत भएको भुल्यौ तिमीहरुले!!!

हे!!! रगत तान्ने डाक्टर,

परिक्षण गर्ने बैज्ञानिक, खोप्ने ठोक्ने इन्जिनियर

खौरिने काट्ने हजाम, रस निकाल्ने रसायन शास्त्री,

आदेश दिने राजनितिज्ञ हो

होसियार !!!!

मेरी मृत्यु नजिकिँदै छ !!!!!

रहने छैनौ तिमीहरु

मेरो मृत्यु पछि

हुनेछ तिम्रै कारण मानव सभ्यताको बिनास

सम्पूर्ण जिव अस्तित्वको समाप्‍ति

सोच!!! बेलैमा

मेरो विन्ति छ !!!

पृथ्वी बचाउँ !!! पृथ्वी बचाउँ !!! पृथ्वी बचाउँ !!!

2077।02।२३

 


No comments: