Saturday, 15 August 2015

विचरो काक्रो

                                                            प्रकाश आचार्य

सुर्कोमा रोपेको काक्रो
प्रतिकुल वतावरणका बावजुद
विषादीको पटक पटक प्रयोग पश्चात 
निर्मूल पारेर झुसिले, खुम्रे र लाईकिरा
सहिद भए सयकडौं गुणकारी किरा 
बेर्ना विस्तारै हुर्केर बन्छ झाल ।  

बल्ल तल्ल एकटा चिचिलो देखिएको 
झुम्मिएका छन् परिवारजन 
लिएर हातमा चक्कु, खुर्पा, हँसिया र चुलेसीहरु 
मलाई ठाडो चिरा त्यसलाई तेर्सो चिरा
उस्लाई एक कुड्को कस्लाई गोलो चानो
कस्कसलाई सिर, पुच्छर, ठूलो, सानो भन्दै ।

को चोर भन्दै भेट्नु पट्टी काटेको चानो मुड्कीले हान्दा
छिमेकीको घरमा पुग्छ उछिट्ीएर 
हेर्दाहेर्दा काटेर फालियो पुच्छर भाग 
दाँत नभएका मेरा दमका रोगी बा 
गिद्रो भएपनि चाहिन्छ भन्छन्
साँदेर खान्छ रे भाईकान्छो 
गालेको खाने रे बुहारी 
आलुसंग मिसाएर खान्छे रे श्रीमती  
छोरी चीन पढेकी के जानेकी हो 
पकाएर पो खानि रे
छोरो भारत तिर पसेको 
रक्सीको चुस्कीलाई सलाद रे 
मैले त केही जाने पो
सादै टोक्न मन्छ । 

ओईलाएको विचरो काँक्रो 
परिवारको किचोलोले 
राख्दा राख्दै फतन्कै गल्ने पो हो कि ?
हेर्दा हेर्दैै बन साङ्गलोले खाने पो हो कि ? 

मेरो सेतो, पहेँलो र हरीयो मिश्रीत 
सर्लक्क परेको स्वादीलो काँक्रो
के फेद के टुप्पोे गोलो या लाम्चो
गिद्रो होस वा बोक्रो, खश्र्रो या मसिनो 
आमा चाहन्छिन बरावर बाड्न सन्तानलाई 
अव म पनि आमासंग सहमत भएँ 
अहँ
दिनु हुन्न कुनै बनसाङ्गलोलाई चिर्थोन 
दिनु हुन्न कसैलाई जथाभावी चिर्न । 

Sunday, 22 February 2015

हार्इकुहरु 
प्रकाश आचार्य


तान्दै छोड्दै 
हावापोके जीवन 
फुस्के मरिन्छ ।

लुुछाचुढी छ
पसिनाको कमाई 
डिपोमा ग्याँस ।

महिनौ लाइन् । 
मनपरी छ क्याँस 
उँडायो ग्याँस ।

रगत निर्यात 
चुत्थो पैसाको लोभ 
बक्सामा ज्यान ।


विश्वास घात
रातोदिन रडाँको
बानेश्वरमा ।

बेइमानि भो 
समृद्घिको लाल्सामा
फटाहा नेता ।

धक्धुकी थियो
बाच्ने आसमा ! म¥यो 
जनचाहना । 

भुसाको संकट छ 
चराउन गाह्रो भो 
६०१ भेडा ।




मेरो कालो धोती
                                         k|sfz cfrfo{ 
आजभोली
कालो  धोतीमा  पहेँलो  पारी 
आँखा कहीले राता 
कहीले हरीया भिम्काउँदै
रात्रीमा क्याट आइ जस्ता चम्कने श्रिबिन्दी 
सेतो सिन्दुर हालेर  सजिँदै 
लमतन्न परेर सुतिरहेछु 

कोएर राक्षर जस्ता देखिने उनिहरु 

नङ्ग्रा कुदाउँदै, घोटदै
लडीबुडी गरी मेरा शरीरमा सवार छन् 
म उनीहरुको विच्छौना बनेर 
पिडाको मर्म भुल्दै
कहीले घाममा डढ्दै 
कहीले शितमा भिज्दै छु ।

मेरा उदारता र मौनताको फाइदालिँदै 

मेरा अस्मीतामाथी शोषण गर्दै 
निर्ममता पूर्वक वलत्कार गर्छन् 
म एक टक लम्पसार परेर 
उनीहरुको थिचोमिचो, लुठाचुँडि
मन नलागी नलागी खपीरहेछु ।

लगाउन नपाइ 

लतपत्तिन्छन्  मेरा ओठकालालि 
खजमजिन्छन् मेरा बस्त्र 
पुछिन्छन् मेरा श्रृगार 

विना अनुमति मेरा शरीर खोतलिन्छन्

कतै पानीका पिच्कारीले कोत्रिन्छन्
मेरा उदारीएका खाल्टाहरुमा बजारीएर
टुटीलाहरुमा ठोकिएर 
अनगिन्ती यौवनहरु रगताम्मेहुन्छन् 
मेरा शीररहरुमा घाउ  र निलडाम छोडदै 
विसाएका घाउमा निहित स्वार्थले
पटक पटक मलम पट्टि टाँसीन्छन् ।


उनिहरुको फोस्र आदर्श हेर त 

कति स्वार्थी छन् उनिहरु?
उनका पाहुनालार्इ देखाउन 
देखावटी मायाँ गरिँदै छ 

मेरा सौन्दर्यले उनिहरुको 

लाज ढाकिने भ्रम पालेर  
मलाई सजाउँदै 
अथितीलाई देखाउन
मायाँ गरेझै गरीरहेछन्

कमिसनका नक्कली अत्तरहरुले 

म मग्मगाए पनि 
रोएको छ भित्र भित्रै मेरो मन 
दुखेको छ मेरो शिथिल तन 

घोत्लीन्छु, 

पाहुनाहरुको फिर्ती पछि
तिनका आतताई व्यवहारले
म पुनः कुरुप हुनु पर्ने पो हो की ?
नेपाली रंगमञ्चमा देखिएका तरंगहरू
प्रकाश आचार्य 
पृष्ठभूमि 
विश्व प्रसिद्घ नाटककार सेक्सपियरले भनेका छन् पृथ्वी एउटा मञ्च हो  । हामी रंगकर्मी भएर आ–आफ्नो भूमिका निभाइरहेका छौं । बास्तविक जीवनको कालखण्डमा फरक फरक भूमिका गरीरहेको हुन्छन् ।  कतिपय अवस्थामा एकै व्यक्तिले पनि भिन्न भिन्न मूमिकामा प्रस्तुत हुन्छन् । जस्तै एउटै पुरूषलाई जीवनको बिभिन्न समयमा छोरा, दाजु, भाई, श्रीमान्, ज्वार्इँ, बाबु र एउटै महिलालाई छोरी, दिदी, बहिनी, आमा, श्रीमती, बुहारी जस्ता फरक मूभिकामा पाउँछौं । साथै समाजमा व्यापारी, नेता, गृहणी, हाकिम, कारिन्दा, मजदुर, मालिक, शिक्षक, कृषक, समाजसेवी, प्रहरी, चोर, फटाहा आदीको भूमिकामा हुन्छन् । सोही अनुसार इज्जत, सम्मान, पुरस्कार, तिरस्कार, घृणा आदी पाइरहेका हुन्छौं भने रंगमञ्चमा यस्तै यस्तै समाजका व्यक्तित्वहरूको स्वभाव र दिनचर्यालाई अभिनयमा उतारेर रंगकर्मीहरूले वाहवाहई कमाईरहेका हुन्छन् । यसरी प्रस्तुतहुने रंगमञ्चका प्रस्तुतीहरूले समाजमा सकारात्मक सोच ल्याउने, परिवर्तनको वाहक, शिक्षा र ज्ञान प्रवाहित गरिरहेको हुन्छ । यसका साथै दर्शकहरूलाई भरपुर मनोरन्जन पनि प्रदान गरिरहेका हुन्छन् । 

ऐतिहासिक विवेचना 
नेपाली रंगमञ्चको इतिहास हेर्दा विभिन्न कालमा जस्तो जस्तो सांस्किृत, सामाजिक परिवेश र राजनैतिक व्यवस्था हुन्थ्यो त्यसको प्रचार वा गुणगानमा वा विरोधमा समेत रंगमञ्चमा कला प्रस्तुत हुने गरेको    पाईन्छ । किरातकाल, लिच्छवीकाल, मल्लकालहरूमा पनि तत्कालिन परिवेशमा रंगमञ्चमा कला प्रस्तुत हुन्थे । पूर्व कालमा रंगमञ्चको विकासका लागि होस् वा आफ्नो र परिवारको मनोरञ्जनका लागि पनि   राजामहाराजाहरूले नै विदेशी कलाकार्मीहरूलाई भियाएको पाइन्छ । यसरी नाम लिनुपर्दा पर्दा जयप्रकाशमल्ल, प्रताप मल्लहरूलाई लिन सकिन्छ । त्यस वखत विशेष गरी रामायण, महाभारत जस्ता धार्मिक कथामा आधारित रहेर राजप्रासाद, विभिन्न मठ मन्दिर र डवलीहरूमा कला प्रदर्शन हुने गर्थे ।
करिव २००० बर्ष पहिले सुरूभएको हरिसिद्घी गीति नाटक हालसम्म मञ्चन भएकोमध्ये पुरानो मानिन्छ । साथै कार्तिक नाचपनि पुरानो मध्येकै हो जुन आजपर्यन्त पनि प्रस्तुत हुँदै आएको छ । उक्त कलाहरूमा संगीत तथा बाद्यबादन रसको भरपुर मिश्रण पाईन्छ । मल्लकालदेखि नै बिशेष गरी नेवारी, उर्दू तथा मैथिली भाषामा समेत प्रस्तुत हुने गरेको थियो । यसका लागि मुलुक बाहिरबाट पनि कलाकारहरू ल्याउने गरिएको देखिन्छ । वि.सं.१९०० ताका धनबिर मुखीया, शक्तिबल्लव अर्याल, पहलमानसिंह स्वाँर, भैया सिंह गजमेर र नेपाली रंगमञ्चमा भौगोलिक रूपमा दार्जिलिङ्गको पनि योगदान रहेको पाइन्छ । 
आधुनिक नाटकको लेखनमा बालकृष्ण सम लगायतका नाटककारहरूको महत्वपूर्ण योगदान रहेको छ । समले मुटुको व्यथा, प्रल्हाद जस्ता नाटकलेख्नु भएको थियो । गोपाल प्रसाद रिमाल, माधव घिमिरे, बासु सशी, भिमनिधी तिवारी, विजय मल्ल, इन्द्र बहादुर राई, गोबिन्दबहादुर मल्ल, अभि सुवेदी जस्ता नाटककारहरूले लेखेका नाटकहरू आजसम्म पनि रंगमञ्चमा मञ्चन भैरहेका छन् । रंगकर्मीहरूको कुरा गर्दा परिचित अनुहारहरूमा प्रल्हादनामको नाटकमा हरिप्रसाद रिमालले राणाको दरवारमा १४ बर्षको उमेरमा प्रल्हादको भूमिका गर्नु भएको थियो भने मुकुन्द इन्दिरामा पनि वहाँको भूमिका रहेको थियो । आधुनिक रंगमञ्चको इतिहासमा हरिप्रसाद रिमालको योगदान उल्लेखनिय रहेको छ । यसै गरी हरि प्रसाद रिमाल, मिथिला शर्मा, सूर्यमाला शर्मा, सुनिल पोखरेल, निशा शर्मा जस्ता रंगकर्मीहरूको नाम लिन सकिन्छ । रंगमञ्चका निर्देशकहरूको नाम लिनु पर्दा हरिप्रसाद रिमाल, जीतेन्द्र महत अभिलाषी, हरिहर शर्मा, अशेष मल्ल र सुनिल पोखरेल जस्ता अग्रजलाई लिन सकिन्छ । पछिल्लो समयमा आएर, प्रभाकर शर्मा, विरेन्द्र हमाल, खगेन्द्र लामिछाने, अनुप बराल, दयाहाङ्ग राई, सौगात मल्ल जस्ता नामहरू आउँछन् ।

वर्तमान अवस्था 
पछिल्लो समयमा जनचेतनामूलक, रोमाञ्चक, सामाजिक विभेद, राजनैतिक स्वतन्त्रताका लागि आवाज र सामाजिक विकृती प्रति पटाक्षेपहरूमा केन्द्रित रहेका नाटकहरू मञ्चन भैरहेको पाउँछौं । भौगोलिक रूपमा विशेष गरी राजधानी र छिटपुट रूपमा मोफसलमा पनि सडक नाटककै रूपमा भएपनि रंगमञ्चको संस्कृति भित्रिएको पाईन्छ ।
आधुनिक समयमा आएर रंगमञ्चले व्यापारिकता हासील गरेको पाउँछौं । रंगमञ्चको विकासमा २००७ सालमा राष्ट्रिय नाचघर स्थापना भएको थियो । यसैलाई सरकारको पूर्ण स्वामित्वको सांस्कृतिक संस्थानको रूपमा २०२९ असार ५ मा विकास गरियो जसले समय समयमा नाटकहरूको प्रतियोगिता समेत गरेर रंगमञ्चको क्षेत्रमा विशेष योगदान गर्दै आएको छ । यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानको पनि कलाको विकास स्थायित्व, प्रोत्साहन र संरक्षणमा योगदान रहँदै आएको छ । तथापि यस क्षेत्रले अपेक्षा गरे अनुरूपको प्रगति र प्रोत्साहन पाउन नसकेको देखिन्छ । 
वि.सं २०३६ ताका अशेष मल्लबाट निर्देशित मूर्दाबादमा उठेका हातहरू शिर्षकको नाटक त्रि.वि. हलमा मञ्चन भएकोमा तत्कालिन शासनबाट प्रतिबन्ध गरिएको थियो । तर जोसिएका युवाहरूको संयूक्त जमातबाट सर्वनाम समुहको २०३८ मै जन्म भई सर्वनाम नाट्य समुहको रूप लिन पुग्यो जुन हालसम्म पनि रंगमञ्चको क्षेत्रमा क्रियाशिल रहेको छ । लामो समयसम्म सुस्ताएको रंगमञ्चको संस्कृतीलाई कलाकार तथा निर्देशक सुनिल पोखरेल र वहाँको समुह आरोहणको पहलमा २०५९ को बसन्तपञ्चमीदेखि गुरूकुल नाटकघरको स्थापना भएको थियो । यस नाटक घरमा पुराना तथा नयाँ नेपाली नाटकहरूका साथै विदेशी भाषाका नाटकहरूको नेपाली रूपान्तरण समेत प्रस्तुत गर्ने गरेको थियो । तर हाल उक्त नाटकघर स्थानान्तरणका कारण बन्द भए पनि गुरूकुल संचालन गर्ने आरोहण समुहले मण्डला नाटकघर र अन्य थिएटरहरूमा नाटक मञ्चन गर्दै आएको छ । गुरूकुलले अनगिन्ती कलाकार तथा निर्देशकहरूको जन्म गराउनुका साथै मर्न लागेको रंगमञ्चलाई संरक्षण गरेको कुरामा दुईमत छैन । हाल काठमाडौंमा निजी क्षेत्रबाट नाटक घर स्थापना गर्ने बाढी नै आएको  छ । मुख्य नाटकघरहरूमा सुनधारा स्थित काठमाडौं मलमा अवस्थित थिएटर मल, लाजिम्पाट उत्तर ढोकामा अवस्थीत थिएटर भिलेज, बत्तिसपुतली गोठालेघर (गोविन्द बहादुर मल्लको सम्झना)मा अवस्थित शिल्पी थिएटर, कालिका स्थानमा अवस्थित सर्वनाम नाट्यघर र अनामनगर (सिंहदरवार पूर्वढोका) अवस्थित मण्डला नाटकघर संचालनमा आएका छन् । विभिन्न नाट्यघरहरूमा आफ्ना प्रस्तुतीहरू प्रस्तुत गरी कला प्रदर्शन गर्न नाटकघर नभएका अनगिन्ती कलासमुह पनि आफूलाई खार्दै रंगमञ्चमा कला प्रदर्शन गरिरहेका छन् । 

हालै मञ्चनभएका केही नाटकहरूको विष्लेशण
उपत्यका भित्र संचालनमा रहेका थिएटर मल, थिएटर भिलेज, शिल्पी थिएटर, सर्वनाम नाट्यघर र मण्डला नाट्कघरहरूले  बढ्दो नेपाल तथा विदेशी फिल्मको प्रभावलाई चिर्दै काठमाडौंका दर्शकहरूलाई आफू तिर तान्न सफल भएका छन् । पुसको कठ्याग्रिने जाडोमा काठमाडौैका सबै जसो नाटकघरहरूमा मञ्चन भएका नाटकहरू एक सातादेखि बीसदिनसम्म चल्न सफल भएका छन् । यसरी प्रस्तुत भएका सबैजसो नाटक हेर्ने दर्शकले फरक अनुभूति गर्नुका साथै भरपुर मनोरञ्जन लिएको विचार व्यक्त गर्ने गरेको पाईएको छ । यसै सिलसिलामा पंक्तिकारले प्रत्यक्षरूपमा हेर्ने अवसर प्राप्त गरेको तीन नाटकको संक्षिप्त विश्लेषण यहाँ  गरिएको छ । 
१.
थिएटर भिलेज, उत्तर ढोका मार्ग, लाजिम्पाटमा रहेको नाट्यघरमा पुस १३ देखि २६ गतेसम्मसाँझ पाँच बजेबाट खगेन्द्र लामिछानेद्वारा निर्देशित नाटक “पीडा गीत” प्रस्तुत गरिएको थियो । उक्त नाटक टुकी आर्टस्ले प्रस्तुत गरेको थियो । टुकी आर्टस् सिनेमा निर्माण गर्ने कम्पनी भएपनि नाटकमा यस संस्थाको पहिलो प्रस्तुती हो भने पीडा गीत नाटकको नयाँ संस्करण यस आर्टस्ले प्रस्तुत गरेको हो । 
यो नाटक द्वन्द्व समयको एक प्रतिनिधि पात्रको रूपमा दलबहादुरलाई केन्द्र बनाएर निर्माण गरिएको  छ । माओवादी सशस्त्र द्वन्द्वका बेला दलबहादुरका छोराछोरी, श्रीमती र आफन्तहरू मारिन्छन् । एक्लो दलबहादुर शहर पस्छ । शहरमा बाँच्नका लागि संघर्ष गर्छ । एक दिन शहरको चोकमा विदेश जान हिँडेको ठिटो भेट     हुन्छ । ठीटोले दलबहादुरसँग आत्मीय व्यवहार देखाएपछि दलबहादुरले आफ्नो जीवन संघर्षको कथा ठिटोलाई उक्त नाटकमा सुनाउँछ । यसबाट द्वन्द्वमा परेकाहरूको पीडाको यथार्थता यस नाटक हेरीरहँदा अनुभूती नगरी नहुने परिस्थीती श्रृजना हुन्छ । यस नाटक गुरूकुलले आयोजना गरेको आरोहण राष्ट्रिय नाटक महोत्सवमा नाटक पीडा गीत पहिलो पटक मञ्चन भएको हो । यो नाटक अन्तराष्ट्रिय महोत्सव २००९ मा पनि प्रदर्शन भइसकेको रहेछ । लेखन तथा निर्देशन दुवै खगेन्द्र लामिछानेको थियो । यस नाटक हेर्नेको मन दलबहादुरको अभिनयले कहीँ न कहीँ कटक्क काटेकै हुनु पर्छ । नाटक हेरेपछि हालै विदेशिइरहेका युवाहरूको ताँती र विगतको द्वन्द्वको घाउको यथार्थ अनुभूति पंक्तिकारले साक्षत्कार गरेको थियो । 

२.
नाटककार सत्यमोहन जोशीको नेवारी लोककथामा आधारित संगीत नाटक “धोँच्वलेचा” पुस ३ देखि २१ गते सम्म गोठाले नाटकघर, शिल्पी थिएटरमा प्रस्तुत भएको थियो । उक्त नाटकको नेपाली अनुवाद रचना श्रेष्ठ (रेडियो नेपालकी नेवारी समाचार बाचिका), संगीतिक श्रृजना श्रीती प्रधान र निर्देशन श्री पशुपती राईले गर्नु भएको थियो । नाटकका सबै जसो पक्ष सबल थिए । यसका कला प्रदर्शन गर्ने कलाकारहरू रगंमञ्चबाटै खारिएर आउनुभएको प्रतिभाहरू हुनु हुन्छ । नाटक मञ्चनको शुरूमा बेखानारायण र बालामै (वेखानारायणकी कान्छी श्रीमती)  वीचको नेवारी लवजमा वार्तालाप र नेवारी संस्कृति झल्कने मञ्चको सजावटबाट सुरू हुन्छ । नाटकमा बेखामानको जेठी पट्टिकी छोरी पुनथकुमैलाई र आफ्नी छोरी(याच्छुमै) लाई आमा (बालामै) ले खानपीन, बोलीचाली र घरायसी काममा भेदभाव पूर्ण व्यवहार गरेको प्रष्ट देखिन्छ । जुनकुरा श्रीमान्ले चाल नपाउने पाराबाट बालामैले गरेकी हुन्छिन । उनीहरूको घरमा पालेको जादुयी बाख्राले त्यो व्यवहार चित्त नबुझी पुनथकुमैलाई माया गर्ने र मीठामीठा खाना उत्पत्ति गरी दिने गर्छे । त्यो कुरा चालपाएर आमाले बाख्राको बली दिन्छे । पुनथकुमलाई बाख्राले आफ्नो हड्डी लगेर गाड्नु त्यसमा यमरी फल्छ भनेकोले उसले त्यसै गर्छे । केही समय पछि उक्त रूखमा यमरी फल्छ र त्यो उसले खान्छे । 
पुनथकुमैले मुसालाई रोटी दिएर उसको सुचनाको आधारमा गहना भेट्छे र राक्षस आउने थाहापाएर  भाग्छे । सौतेनी छोरीले गहना ल्याएको थाहा पाएर अति मायाँ गरेको नाटक गरी गहना आफूले लिन्छे । आफ्नी छोरीलाई पनि गहना लिन पठाउँदा मुसालाई खान नदिएकोले मुसाले राक्षस आउने कुरा भन्दैन र अन्तमा बालामैकी आफ्नी छोरी याच्छुमैको मृत्युको खवर कागले दिन्छ । यसरी अनगिन्ती रोचक कथाका रचनाकर्ता सत्यमोहन जोशीले लेख्नु भएको यस कथामा सबै कलाकारहरूले धाराप्रवाह अभिनय गरेर जीवन्तता दिने प्रयास गर्नु भएको छ । लोभ गर्नाको फल कस्तो हुन्छ साथै गलत सोचको हार र सत्यको जित हुने कुरा प्रस्तुत छ । 
३.
नाटककार विजय मल्लले २०१५ सालको हाराहारीमा लेख्नु भएको नाटक “कोही किन बरवाद होस्” वर्तमान परिवेशमा परिमार्जित गरी पौष ११ देखि ३० गतेसम्म मण्डला नाटकघरमा मञ्चन भएको थियो । उक्त नाटककोशंकर रिजालले निर्देशन गर्नु भएको थियो । सुनील पोखरेलले सुन्दर (प्रिन्सिपल) को भूमिका गर्नु भएको थियो । यस कथा बाल मनोविज्ञानमा आधारीत भएर बनेको छ । जसमा मुख्य केन्द्र ध्रुब जसकी आमाले अर्को विवाह गरेकी हुन्छे बाबुबाट आवाशीय विद्यालयमा राखिएको बालक ध्रुवमा आमा नहुनुका पीडा र ममताको अभावले बदमासी गर्ने, साथीहरूलाई दुःख दिने, एकोहोरो भएर बस्ने, उपद्रोहहरू गर्ने स्वभाव   हुन्छ । राम्रोसँग अध्ययन समेत नगर्ने हुँदा सुन्दर सरले उसले सानोमा आमाको अनुहार समेत नदेखेको हुँदा विद्यालयकी कमला मिसलाई नै आमा हो तिमी सुध्रियौ भने म आमा देखाईदिन्छु भन्छन् । सरले अझै फकाउँदै तिमीले राम्रो बने आमाले पनि माया गर्नु हुन्छ र साथीहरूले पनि माया गर्ने लोभ देखाउँछन् । ध्रुव आमा पाएमा परिवर्तन हुने बचन दिन्छ । तर अविवाहित कमला मिसलाई आमा मै हुँ भनेर अभिनय गर्नुस् भन्ने प्रिन्सिपलको प्रस्ताव मान्न धेरै समय लाग्छ । अन्तमा उनि उक्त भूमिकामा देखिन्छिन जसको प्रभाव ध्रवमा सकारात्मक हुन्छ । ध्रुवको आनीबानीमा अनौठो सुधार देखा पर्छ । ध्रुवको साथीभाईसँगको सम्बन्ध, अध्ययनमा मात्र सुधार नभएर एक जिम्मेवार व्यक्तिको व्यवहार गर्न समेत सक्षम हुन्छ । तर अनायास कथाले अर्को मोड लिन्छ । “मेरी आमा विद्यालयमा नै हुनहुँदोरहेछ बुवा तपाईले मलाई भन्नु भएन” भनेर ध्रुवले उसको बुबालाई भन्दा ध्रुवका बाबुले आफुलाई छाडेर गएकी श्रीमति छोरा भेट्न आई र विद्यालयले किन भेट्न दियो भन्ने विषयमा पोखेको आक्रोस र पछि आमाको अभिनयमा विद्यालय शिक्षीकाले देखाएको उदारताको फलबाट छोरामा आएको अनपेक्षित सुधारका कारण लज्जा बोधका साथै खुशी व्यक्त गर्छन । पटक पटक कथाले दर्शकलाई भावुक बनाउनुका साथै पालेको भूमिकामा रहेको घनश्यामको भूमिकाले दर्शकलाई हाँसो रोक्न मुश्किल पर्छ । कमला मिस अविवाहित भएपनि ध्रुव प्रतिको भावनात्मकताको परिवर्तन र ध्रुवले पनि मेरी आमा यिनै हुन् भन्ने माने पश्चात ध्रवले पढाइ सकेर स्कुल छोड्न धेरै कठिनाइ पर्छ । कमला मिस असली आमा नभएर बानी सुधार्न गरिएको प्रयास हो भन्दा धु्रवको मायालु रोदनले सबैको आँखा रसाउँछन साथै ध्रुवको र कमला मिसको विछोड्ले सबैको मुटुमा चस्का लगाउँछ । यसरी यस नाटकमा बाल बालिकामा प्रेम, मातृत्वले पार्ने प्रभाव र अभिभावकको दायित्वलाई नाटकमा प्रस्तुत गरिनुका साथै विद्यालयले विद्यार्थीको मनोविज्ञान बुझ्नुपर्ने कुरा समेत झल्काएको छ । निकै पहिले लेखिएको कथा भएर पनि वर्तमान समयमा पनि अत्यन्तै सन्दर्भिक देखिन्छ । 

नाटक प्रबर्धनमा खेलिनुपर्ने भूमिका
नेपाली आधुनिक रंगमञ्चको इतिहास खासै पुरानो नभएको र यसको बजार विस्तार हुन नसकेको अवस्थामा विस्तारै बढ्नलागेको यसक्षेत्रलाई सम्बन्धीत सबै क्षेत्रबाट संरक्षण, सम्बर्धन र विकासका लागि अझै मेहनत गर्नु आवश्यक रहेको छ । विशेष गरी सरकार र सरकारबाट कला संस्कृति क्षेत्र हेर्ने विभाग तथा प्रतिष्ठानले यसका लागी आवश्यक पूर्वाधार, आवश्यक नीति नियमको व्यवस्था गर्नु पर्ने देखिन्छ । पछिल्लो समयमा मरिसकेको रंगमञ्चको संस्कृति पुनः बिउँझेको अवस्थामा फेरी मर्न नदिन के कस्ता उपाय अपनाउनु पर्छ सो को पहिचान गरी व्यवहारमा उतार्नु आवश्यक हुन्छ । यदि यसो गरिएन भने विगतमा केही सिनेमाहलहरूले पैसा कमाएको देखेर विना अनुमान र अध्ययन खुलेका अनगिन्ती सिनेमाहलहरू केही समय पश्चातः गोदाम, पार्टी प्यालेसमा परिवर्तन भए वा भत्काइएको यथार्थ रंगमञ्चमा पूनरावृती नहोला भन्न सकिन्न । संचालनमा रहेका नाट्यघरहरूलाई विकसित हुनका लागि सरकारको तर्फबाट सुविधा तथा सहुलीयत उपलब्ध गराउनु आवश्यक हुन्छ भने नाटकघरहरूले पनि आधुनीक मलहरूमा खुलेका सिनेमाघरहरूमा दिइने सुविधा र आम दर्शकमा विदेशी सिनेमा प्रति देखिएको आर्कषणका कारण नाटकघरहरूले बेहोर्नु पर्ने चुनौतिको सामना गर्न तयार भै आफ्नो प्रचार प्रसार गर्नु अपरिहार्य देखिन्छ । जसका लागि मौलिकता, कलात्मकता, रचनात्मकता, समय सापेक्ष आधुनिकता, भरपुर मनोरञ्जन र प्रयोग हुने सामग्री तथा प्राविधिमा  गुणस्तरियतामा सुधार गरी कडा प्रतिस्पर्धामा ओर्लनु आजको माग रहेको देखिन्छ । 
त्यस्तै रंगमञ्चमा आउन चाहने नाटककार, निर्देशक तथा कलाकारहरूको लागि प्रोत्साहन गर्न अध्ययन, प्रशिक्षण तथा तालिम दिने निकायको तत्काल आवश्यकता देखिन्ंछ । रंगकर्मीको खोज, उत्पादन र संरक्षणका लागि देशैभरी समय समयमा अभियान संचालन र प्रतिस्पर्धा गराउनुपर्छ जसबाट कुना कुनामा लुकेर रहेका प्रतिभाहरूले फल्ने फुल्ने मौका पाउने छन् । 
यस पेशालाई मर्यादित र जीविकोपार्जन गर्न सक्ने बनाउँदै स्तरीयतामा बृद्घि गर्नसके कलाको संरक्षण हुनुका साथै यो एउटा पेशाको रूपमा विकास हुने देखिन्छ । यस पेशामा लाग्ने रंगकर्मीलाई आकर्षित गर्न कलाकारको विमा, स्वास्थ्य उपचार सुविधा, विदेश भ्रमण तथा तालिमको व्यवस्था र उत्कृष्ट व्यक्तित्वहरूलाई पुरस्कारको व्यवस्था सरकारको तर्फबाट हुनु पर्ने देखिन्छ ।
नाटकमार्फत विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई पनि समय सान्दर्भिक ज्ञान र मनोरञ्जन दिन पर्ने देखिन्छ यसबाट कलाको संरक्षण हुनुका साथै सानै उमेरदेखि यस विषयमा उनिहरूको चाख रहने र सिक्ने भिन्न तरिकाको प्रयोग हुन सक्छ । आम जनताले पनि पर–संस्कृतिलाई टेवा पुग्ने गरी विदेशी सिनेमाबाट मात्र मनोरञ्जन लिनुको साटो आफ्नै माटोको उब्जनी अर्थात कला, संस्कृति र कलाकारको उपजलाई माया गर्दै समय समयमा साथीभाई, परिवार सहितरंगमञ्चमा मञ्चन भएका नाटकहरूको दर्शक बनेर मनोरञ्जन लिँदै यस क्षेत्रलाई प्रोत्साहित गर्नु हुनेछ भन्ने पंक्तिकारको विचार रहेको छ । 
अन्तमा आउँदा दिनहरूमा पनि हाल स्थापना भएको नाटकघरहरूले नेपाली रंगमञ्चको इतिहासलाई कायम राख्दै निरन्तरता दिन समसामयिक, बस्तुपरक र समाजमा सकारात्मक प्रभाव पर्ने कथामा कला प्रस्तुत गर्न सकुन् जसमा पाइताला राखेर सयौं कलाकारहरूले आफ्नो कला प्रस्फुटित गर्ने अवसर प्राप्त गर्दै उनिहरूले भरपुर मेहनत गर्ने छन् । यसका लागि सरकारी तवरवाट रंगमञ्च क्षेत्रलाई भरपुर ध्यान दिन सके आगामी दिनमा यो क्षेत्रको विकास र प्रबद्र्घन गरी अघिबढ्न हौसला र प्रोत्सान मिल्ने छ । साथै आम दर्शकहरूले पनि भरपुर ज्ञान र मनोरञ्जन लिन सक्ने वातावरण बन्ने छ भन्ने अपेक्षा गर्न सकिन्छ । 

सन्दर्भ सामग्रीहरूः

www. Mandalatheatre.com
www.ekantipure.com/the-kathmandupost .2012.04.08
www. Sanskritiksanthan.org.np
http://www.nepalacademy.org.np/jna/
www. namuda.org.np
www.ratnabooks.com

www.bossnepal.com/bal-krishna-sama