नेपालमा मध्यपहाडी क्षेत्रहरूका भिरहरूमा रहेका भिरमौरीको बारेमा
पटक पटक स्वदेशी तथ विदेशी सञ्चार माध्यमहरूमा बेला बेलामा चर्चा
चलिरहेको छ । यस विषयमा मलाई पनि जिज्ञासा नरहने कुरै भएन । संजोग नै
मान्नुपर्छ छन्त्यालहरूको बसोबास रहेको म्याग्दीको कुइनेमङ्गलेमा भिरमौरीको
गतिविधि र मह काढ्ने कार्यको छायाङ्कनका लागि चिनियाँ टोली आउन लागेको
जानकारी भयो । मलाई पनि भाषा सहजीकरणको लागि सँगै जान प्रस्ताव आयो ।
यो खबरसँगै तयारीका साथ बिहीवारको साँझ सूत्र मिडिया वर्कस्का दिनेश
देवकोटासँग सिफलमा भेटघाट भयो । अबेलै भए पनि भोलिपल्ट म्याग्दीको बेनी(दग्नाम हुँदै धौलागिरि हिमालको फेद कुइनेमङ्गले पुग्नुपर्ने लक्ष्यका साथ सञ्चार
मन्त्रालयका उपसचिव राजन पौडेल सर (लियाजोन अफिसर), रेन्जी (व्यवस्थापन
सहयोगी), चउ सिङ सिङ (चिनियाँ नागरिक छायाङ्कन सहयोगी) र म त्यसतर्फ
लाग्यौँ । बाँकी सदस्यहरू भोलि हेलिकप्टरबाट छायाङ्कन स्थल नजिकैको क्याम्पमा
पुग्ने योजना रहेछ ।
हामीहरू थानकोटको सदावहार सवारी जामलाई झेल्दै दश बजे मलेखुमा
खाना खाने स्थानमा पुग्यौँ । त्रिशूलीको किनारैकिनारको यात्रा अन्धमारमा धेरै
पछिको रमाइलो भएको राजन सरले बताइरहँदा मैले पनि सही थाप्दै थिएँ । जेष्ठ
महिना पहिलो साता भए पनि ठाउँ ठाउँमा पानी परेकाले अझै रमाइलो अनुभव
भइरहेको थियो । रातको एक बजे पोखरामा बास बस्ने स्थान पुग्यौँ । बिहान साँढे
छ बजे गन्तव्यमा पुग्न कार्यक्रमका संयोजक पर्यटन व्यवसायी ट्रिपल गुरुङसँग
होटलमा भेट भयो । उहाँले नै चलाएको गाडीमा बसेर तीन घण्टाको यात्रा गर्नुपर्ने
रहेछ । उहाँ एक पूर्व हवाईजहाज चालक पनि हुनुहुँदो रहेछ । जिल्ला प्रशासन
म्याग्दीको कार्यालयमा हामीले छायाङ्कनमा प्रयोग हुने ड्रोन सञ्चालन अनुमति
लिनका लागि पुग्यौँ । अनुमति पत्र तयारपश्चात् करिब एक घण्टा आधामा
गाडीको यात्रा दग्नाम पुगेर समाप्त भयो ।
चिनियाँहरू धेरैजसोको चुरोट पिउने आदत हुने गर्छ । यसको उदाहरण
जब गाडी रोकिन्थ्यो मौका छोप्दै चिनियाँ साथी चुरोट सल्काइहाल्थे । त्यहाँ रहेको
एक मात्र होटलमा खाना खाएर हामीले लगेका बन्दोबस्तीका सामानहरू लैजान
तयार रहेका ८ जना भरियाको साथमा कुइनेमङ्गलेको हिँडाइ सुरु गर्यौँ । छङ्गाछुर
भिरको तल बगिरहेको रघुगङ्गा नदी दुई जना मुस्किलले ओहोरदोहोर गर्न मिल्ने
ढुङ्गा खोपेर तयार गरिएको उकालो ओरालो बाटो । हामी हिँडेको स्थानबाट तल
झी भन्ने स्थान नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गर्न
लागेको जलविद्युत् आयोजनाको ड्यामसाइट निर्माण हुने ठाउँ नजिकै पर्दा ेरहेछ ।
करिब एक घण्टाको यात्रापछि धेरै माथिबाट जेष्ठको सुख्खायाममा पनि झरेको
झरनाको रमाइलो । रसिलो पाखा पार गरी चिमखोला भन्ने स्थान पुगिँदो रहेछ ।
चिमखोला तर्दानतर्दै बाटो आधा हुनुका साथै बेनीबाट घुमेर दुई दिनमा आइपुग्ने
ट्याक्टर हिँड्ने बाटोमा भेटियो । यो बाटो भर्खरै प्रारम्भिक रूपमा तयार गरिएको
हुँदा टयाक्टर मात्र चल्ने अत्यन्त विकट स्थान पार गरेर आइपुगिने कुरा सुनियो ।
कठिन साँगुरो बाटोको समाप्तिपछि यात्रा केही सहज महसुस भयो ।
पारिपट्टिको झुरुप्प परेको सुन्दर बस्ती हेर्दै झुलुङ्गे पुलबाट चिमखोला कटेर
धौलागिरि बेसक्याम्प गेट कटेपछि घाम डुब्न केही समय मात्र बाँकी थियो ।
थकान महसुस भएको देखेर ट्रिपल सरले इनर्जी बिस्कुट दिनुभयो । राजन सर चौर
परेको स्थानमा लम्पसार परेर सुत्नुभयो र भन्नुभयो– ‘योभन्दा जिन्दगीको आनन्द
केही पनि हुँदैन ।’ हो पनि, प्राकृतिक सौन्दर्यले भरिएको खुल्ला आकाश, थकानको
अवस्थामा आराम आह ! मैले पनि महसुस गरेँ । रघुगङ्गाको किनार छुनै लाग्दा
ध्यासी खर्कमा रिमरिम साँझ परेको थियो । यात्राभर नै केही उकालो फेरि तेर्सा े
अतिकति ओरालो फेरि उकालो, ठाउँठाउँमा बनाइएका चौतारो र पानी पिउने
पँधेरोका कारण बटुवाहरूले प्रशस्त आराम नगर्ने अवसर पाउँछन् । त्यहाँ बसेर
आराम गरिरहँदा ती निर्माता समाजसेवीहरूलाई नसम्झने सायदै कोही हुन्छ
होला । बाटोमा भेट्ने जो कोहीले हामीलाई गरेको नमस्कार, फोहोर राख्ने भाँडा
र बास्केटबल मैदान देख्दा समाजको चेतनाको स्तर प्रस्टै देख्न सकिन्थ्यो ।
यात्राको अन्तिम बिन्दु पुग्न करिब आधा घण्टाको ठाडो चढाइरहेको जानकारी
संयोजकले सङ्केत गरिसक्नुभएको थियो ।
फराकिलो सडकको यात्रा बिट मार्दै लट्ठी टेक्दै उकालो लागियो । सय
गन्दै लामो श्वास लिँदै गर्ने संयोजकको सुझाव प्रयोग गर्दै आलुबारी सकिएपछि
केही समयमा अलि पर बत्ती बलेको देखियो । अब आइपुगियो भन्ने आशाका साथ
पाइला छिटो तन्किए तर अझै पन्ध्र मिनेटको ओरालो लागेपछि भिरालो परेको
रघुगङ्गाको डिलमा रहेको चौरमा टेन्ट राखेको स्थानमा पुग्यौँ । बिहानै
हेलिकप्टरबाट पुगेका चाइनिज मित्रहरू र हाम्रो कार्य सहज बनाउन पुग्नुभएका
शेर्पा साथीहरूसँग परिचय भयो । थकान धेरै भएका कारण भोजनपछि राजन सर
र म टेन्टमा सुत्न लाग्यौँ । धौलागिरिको काखमा दुई साना हरियालीपूर्ण पहाडको
चेपमा बगेको रघुगङ्गाको डिलमा छङछङ बगेको आवाज सुन्दै टेन्टमा सुत्न
कम्ता आनन्ददायक थिएन ।
बिहानैबाट भिखौरे (मह काट्ने मानिस) टेकबहादुर घर्र्तीको घरमा निजको
पारिवारिक जीवन र दैनिक गतिविधि (ढिँडो पकाएको, मोही पारेको, ठेकीबाट मोही
निकालेको, खाएको, भाँडा माझेको आदि) छायाङ्कन भयो । एक घण्टाको छायाङ्कनपछि
पारिबाट मौरीको घारमा पुग्न प्रयोग गरिने पराङ निङ्गालोको चोयाबाट बनेको
विशेष प्रकारको परम्परागत भर्याङ, आङ्कुस, टाँङ्गो, मह झार्ने प्लास्टिकले मोरेको
डालो, गाग्री, डेक्ची, शुभ साइतका लागि पुर्खादेखिको धनुष वाँणसमेत बोकेको
महको सिकार गर्ने टोली आइपुग्यो । रघुगङ्गाको फड्के तरेर करिब आधा
घण्टाको उकालो निगालोको बुटा समाउँदै कठिनपूर्वक चढेपछि मह काढ्ने स्थान
पुग्यौँ। त्यहाँ पुगुञ्जेल सबैका खुट्टामा चार/पाँचओटा जुकाले चुस्न भ्याइसकेका
थिए । जुका लाग्न नदिन नुन दलेको भए तापनि पानी परेकाले खासै असर गरेन ।
हामी सँगै चिनियाँ टोलीले छायाङ्कनका लागि प्रयोग हुने क्यामरा, ड्रोन,
मौरीको टोकाइबाट बच्न प्रयोग हुने शिरदेखि पाऊसम्मको विशेष प्रकारको लुगा
बोकेर पुगे । उनीहरू हामीभन्दा बढी नै जुकाबाट त्रसित थिए । पानी परेपछि त
जुकाहरू टाउको उचाल्दै मानिसको गन्धको पछि लागे । हामी पुग्नु अगावै
क्यामेराम्यानलगायत संलग्न प्राविधिक साथीहरू काजी शेर्पा, पासाङ
तामाङलगायतले सुरक्षाको लागि ढुङ्गा तथा रुखमा बाँधेर समाउन र भिरमा
झर्न मिल्ने विशेष (Rock Climbing मा प्रयोग हुने) सुरक्षा व्यवस्था गर्न ुभएको
थियो । तर स्थानीय टोलीले भने कुनै सुरक्षा विधिको प्रयोग नगरी परम्परागत
सामानको मात्र प्रयोग गरी पराङ राख्न थाले भने मूल झाँक्री (चित्रे छन्त्याल) र
भिरमा चढ्ने मुख्य भिखौरे टेकबहादुर घर्ती (विश्वकर्मा) मह काढ्न सुरु गर्दा
परापूर्वदेखि नै गरिँदै आएको कुलपूजा गर्न लागे । काममा बाधा व्यवधान नपरोस्
भनेर मन्त्र उच्चारणका साथ ध्वजा टाँगे । उक्त पूजासहित प्राविधिक कार्यको
राजन सरले भिडियो बनाउँदै हुनुहुन्थ्यो । मह काढ्न शुभ दिनबाट थालनी हुने
परम्पराअनुसार त्यस दिन पूर्णिमा थियो । पूजा हुँदै गर्दा विगतमा लामो समयदेखि
मह काढ्ने काम गरेका टेकबहादुरका दाजु चोया काट्न लागे । उनले पराङ
अड्याउन भित्तामा ठोकिने डक् पनि बनाए । केही केटाहरू स्याउला र सुकेको
निङ्गालो काट्न लागे । मौरी भगाउन धुवाँ लगाउने हंस वरिपरि स्याउला बिचमा
सुकेको निङ्गालो राखेर बनाइएको धुवाउने सामग्री) तयार गर्न लागे । भिखौरे
भर्याङबाट तल झरेपछि सहयोगका लागि उनका छोरा चित्रबहादुर घर्ती पनि
सँगै झरे । डक् ठोकेर घारको नजिक पुग्ने भएपछि हंस देऊ भनेर ठुलो आवाजमा(ओईऽऽऽऽ) कराएर) साङ्केतिक सूचना आएको भन्दै डोरीमा बाँधेर हल्का बलेको
हंस पुतपुताउँदै तल झारियो । हाम्रा वरिपरि घारबाट सुरक्षाका निमित्त उडेका
मौरीले घेर्न थाले केही साथीहरूलाई टोके पनि ।
मह काढ्ने समय केही दिन ढिला भएका कारणले गर्दा मौरीले मह
चुसिसकेको र घरमा बच्चा बनाएको हुँदा उक्त घार काट्न विशेष प्रकारको
सामग्री फिर्का ैली चोयाको डोरीको टुप्पामा बाँधेको लट्ठीको आग्लो) माग भयो ।
केहीबेरमा फिर्का ैली डोरीमार्फत तल पुग्यो । भिखौरेले बच्चा भएको चाकामा
प्वाल पारेर माथिबाट टाँगोमा बाँधेको हँसियाले काट्दा फिर्काेलीको लठ्ठी आग्लो
बनेर बाँधिएको डोरीमा मौरीको चाका नै झुन्डिँदोरहेछ । माथि बस्ने सहयोगीले
इसारा पाउनासाथ त्यसलाई माथि तान्दोरहेछ । उक्त बच्चा रहेको चाका सबै
सहयोगीहरूले घर लगेर निचोरेर निस्केको दुधजस्तो झोललाई तरकारी पकाएजसरी
पकाएर खाने गरिँदोरहेछ । बच्चा बसेको चाका निकालिसकेपछि बाँकी रहेको
चाकामा मह नै मह हुने रहेछ । अब महको चाका काट्ने बेला भयो । माथिबाट
डोरीमा डालो बाँधेर खसाले । माथिबाट टाँगोले घारको मुनि थापि खुट्टाले
अड्याउने र हातको सहायताले हँसियाले चाका काटिने गरिन्छ भनेर माथि
बस्नेहरूले सुनाए । त्यो दृश्य हामी टुप्पामा बसेकाले हेर्न मुस्किल थियो । तपाईंहरूले
भोलि तलबाट देख्न सक्नुहुन्छ भन्दै थिए ।
मह काढ्दा तरतरी महको रस बहने रहेछ । नजिकै रहेको अवस्थामा
तलबाट प्लास्टिक थाप्ने गरिँदो रहेछ । हामीलाई बेलीविस्तार लगाउँदै थिए
स्थानीयहरू । यसरी थाप्दा पनि दुई चार माना मह जम्मा हुँदो रहेछ । हामी पुगेको
भिरको आकार १३० मिटर अग्लो र लम्बाई पनि उस्तै होला । भिरको टुप्पामा
केही मौरी हुने र उक्त घार सकेपछि बिस्तारै पराङ सार्ने गरिँदो रहेछ । भिरको
अत्यन्त कठिन स्थान अर्थात् बिचमा मह काढ्न पराङ जोडेर खसालिँदो रहेछ ।
बिच भागमा काम गर्दा भिखौरेले बढो जोखिम नै मोलेर पराङमा अडिएर काम
गरेको अनुभूति भयो । यदि तलमाथि भएको खण्डमा कसैले बचाउन नसक्ने कुरा
उनीहरू नै बताउँछन् । त्यसो भएर हरेक वर्ष पराङको चेकजाँच गरी आवश्यक
मर्मत गरेर चढ्ने दिन बिहानै केही घण्टा खोलामा डुबाएर मात्र भिरमा राखिने
गरिँदो रहेछ । विनासुरक्षा उपकरण ठाडो भिरमा डोरीको भ¥याङ त्यसमाथि
सामान्यभन्दा फरक काला र ठुला भिरमौरीको गुँडमा हात हाल्नु कम्ता जोखिम
छैन रहेछ । ती टेकबहादुर अठार वर्षको उमेरबाट पराङ चढेको चालिसौँ वर्ष
भएछ । कति आँटिला रहेछन् उनी यो लामो कार्यकालले नै देखाउँछ ।
काम सुरु भएको महिना दिनसम्म यस्ता भिरमा काम गरिँदो रहेछ । यस
क्षेत्र वरपर पचासौँ ओटा घर रहेछन् । उनको अनुभवमा एक घारमै असी
लिटरसम्म निस्केको थियो रे । उनी आफैँले पचास लिटर मह निकालेका रहेछन् ।
यसरी धेरै मह हुन समय अनुकूल हुनुपर्ने रहेछ । यसपटक समय ढिलो भएको
फूलहरू निख्रिसकेको कारण र पानी धेरै परेकाले मह धेरै नभएको भनाइ व्यक्त
गरे । त्यस दिन करिब दुई घण्टाको छायाङ्कन तथा मह काढ्ने काम गरियो ।
काटेर ढालोमा हालिएको महको चाकालाई डोरीको सहायताले माथि तानिएपछि
जालिमा राखेर हातले निचोर्दै छानिने रहेछ । कुटलाई अलग गरेर निचोरेको चाका
एकातिर र रसलाई गाग्रीमा राखिने रहेछ । यसलाई घर लगेर पुनः छानिने रहेछ ।
भिखौरेले काम सकेर पराङबाट निस्केपछि मात्र महलाई छन्त्यालहरूको देवदेवतालाई
चढाएर सबैले चाखिँदो रहेछ । हामी सबैले ताजा महको स्वाद लियौँ । कसैलाई
अलिकति खाँदैमा लाग्ने गर्छ भनेकाले मिठो भए पनि थोरैमै चित्त बुझायौँ । साँझ
परेकाले बिस्तारै बिस्तारै सबैजना वासस्थानतिर लाग्यौँ ।
क्याम्पमा पुगेर खान खाँदै त्रिपल सरले तयार पारेर राखेको आगोमा
भिजेको शरीर सेकाउँदै बस्यौँ । केही साथीहरूले स्थानीय जौबाट बनेको भित्रिकोट(रक्सी) लगाएर शरीरभित्र पनि तातो पार्नुभयो । पश्चिमतिर देखिने धौलागिरिको
काखबाट बगेको पानी र सिरेटोले सानो खोँचको मौसम चिसै थियो । बिहानको
कार्यक्रमको जानकारीपश्चात् आराम गर्न लाग्यौँ । भोलिपल्टको उस्तै तर फरक
स्थानको छायाङ्कन हुने हुँदा भिरको फेदबाट पचास मिटर माथि चढ्ने सिस्नु
धारीको बाटो उकालो लागियो जहाँ खुट्टा चिप्लियो भने के हुने हो कल्पनै गर्न
सकिँदैन थियो । करिब २० जना उभिन पुग्ने ढुङ्गामाथि पुगेर सामान तह
लगायौँ । भिरको तल्लो भागमा मह काढ्दा माथिबाट पराङबाट झर्नेबाहेक सबै
काम तलैबाट हुने रहेछ । क्यामरा म्यानलाई भिरको अझ माथिल्लो भागमा
घारको नजिकै एक जना मात्र अट्ने स्थानमा डोरीबाट शेर्पा साथीहरूको सहयोगले
झारेपछि अघिल्लो दिनभन्दा लामो करिब एक सय तिस मिटरको पराङ झार्ने काम
भयो । सहयोगीहरूले तलबाट निँगालोका झिक्रा र स्याउला बालेर धुवाँ पार्ने
काम सुरु भयो । ठुला आकारका निख्खर काल मौरी भएकाले होला मौरीको गोला
ठुलो भएकाले हुलै चिल्न आउलान् भनेर म पनि डराएको थिएँ तर धुवाँका कारण
त्यस्तो भएन । आउन त मौरीहरू घुम्दै आउँदा रहेछन् तर हामीले नचलाएपछि
केही गर्दा रहेनछन् । बिस्तारै आएका ती मौरीलाई हामीले हात, नाक, निधारमा
राख्दा पनि केही गरेनन् । यस्तो अवस्थामा अपर्झट आउने मौरीहरूले छिट्पुट
रूपमा हात वा मुखमा भने हमला गर्न सक्ने रहेछन् । मेरो नाकमा एउटाले खिल
गाड्न भ्यायो । भनिन्छ मौरीले चिलेपछि उसको पनि मृत्यु हुन्छ । खिलबाट विष
हाम्रो शरीरमा प्रवेश गरेपछि केही सुन्निनु अचम्म नै भएन । पराङबाट भिखौरे
झरेको दृश्य हाम्रा लागि कहालीलाग्दो र नौलो थियो ।
अघिल्लो दिन माथिबाट झरेको खासै प्रस्ट नदेखिएका कारण आजजस्तो
अनुभूति नभएको रहेछ । पराङको केही परको डोरीबाट चाइनिज क्यामेराम्यान
पनि झर्दै थिए । चाइनिज क्यामेराम्यान, निर्देशक, व्यवस्थापनबिचको कुरालाई मह
सिकारीका सदस्य र शेर्पा साथीहरूलाई अनुवाद गर्ने र उनीहरूका कुरा
चाइनिजहरूलाई अनुवाद गरिदिनु मेरो प्रमुख कार्य थियो । चाइनिजहरूले आफ्नो
आवश्यकताअनुसारको कार्य गर्न निर्देशन गर्ने जुन कुरा मैले मह सिकारीहरूलाई
भन्दा गर्न नसक्ने जानकारी हुन्थ्यो । यो कुरा पुनः चाइनिजहरूलाई जबाफ दिँदा
मुख्यतः निर्देशक झनक्क रिसाउने गर्थे । त्यस्तै शेर्पा साथीहरूको पनि उस्तै
अवस्था थियो । किनकि विकट स्थान, साँघुरो धरातलमा अडिएर बस्नुपर्ने मौरीको
डर हुँदाहुँदै विभिन्न आदेशको पालना गर्न सबैलाई गाहारो नै भएको अनुभूति
हुन्थ्यो । शेर्पाहरू यो कामभन्दा त हिमाल चढ्नु नै सजिलो भन्दै थिए । पक्कै पनि
आफूले गरिआएको पेसा र कार्य नै सजिलो हुन्छ ।
उता क्याम्पमा रहनुभएका दिनेश सरले त्यहीँबाटै सम्पूर्ण कार्यको सामञ्जस्य
र संयोजन गर्दै हुनुहुन्थ्यो । हामी छरिएर रहनुपर्ने, एकले अर्काेलाई बोलाएर नसुन्ने
साथै एकले अर्काेलाई गरेको कुरा अन्य सदस्यले पनि सुन्न आवश्यक हुँदा
वाकीटकी (walkie talkie) प्रयोग गरेका थियौ । यसले हाम्रो कार्यलाई धेरै
सहजता प्रदान गरिरहेको थियो । त्यो देखेर भिखौरे दाइले यो दुईओटा हामीलाई
पनि दिन पाए हुन्थ्यो भनेर अनुरोध गर्दै थिए । हेर्दाहेर्दै भिरको मध्यभाग मौरीका
आठ दश गोलाहरू डोरीको भर्याङमा समातेर डक ठोक्दै भर्याङ घार भए नजिकै
पु¥याएर टाँगोमा बाँधेको हँसियाले पहिले फिर्काैली छिराउँदै बच्चा काटियो ।
तलबाट नियन्त्रित डोरीलाई माथि पठाउँदा बच्चा रहेको चाका तल आयो ।
नाङ्लोभन्दा ठुलो चाका समातेर फोटो खिच्न भ्यायौँ । माथिबाट डालोका लागि
भिखौरे चिच्यायो । हत्तपत्त तलको सहयोगीले डोरीमा बाँधेर मह राख्ने डालो
पठायो । डालोलाई टाँगोले धकेलेर घार नजिक पुर्याएपछि खुट्टाको सहायताले
धकेलेर अड्याउँदै हँसियाले महको चाका काटियो ।
यत्तिकैमा पारिबाट मुसलधारे पानी पर्यो तर भिरको टुप्पो टोपीजस्तो
भएकोले हामी बसेको स्थानमा पानी परेन । यहाँको मौसम बिहान घाम राम्रो
लागे पनि मध्याह्नपछि माथितिरबाट बादल आएर पानी परिहाल्ने रहेछ । पानीले
छायाङ्कन र मह काढ्न अवरोध भने भएन । भिरको बिचमा बसेर पानी परेको
हेर्न कम्ता आनन्द आएन । भिरमा बसेको र तल बसेको दुबै क्यामेराम्यानले
कठिनतापूर्वक सबै गतिविधिको निरन्तर छायाङ्कन गरिरहेका थिए । चाइनिज
डाइरेक्टरको कडा निर्देशनमा काम गर्न क्यामेराम्यानहरूलाई पनि निकै गाह्रो
भइरहेको थियो । पटक पटक ब्याट्री परिवर्तन, डाटा सार्नुपर्ने कारण डोरीबाट
शेर्पा साथीहरूले सहयोग गरिरहेका थिए । मह भएको चाका काट्न लागिएकाले
सहयोगी छन्त्यालहरूले प्लास्टिकमा मह थापिरहेका थिए । हेर्दाहेर्दै दुई माना मह
जम्मा भएछ ।
उता डालोबाट झारिएको चाका तुरुन्तै छनौट गरी कुट पन्छाउने,
निचोरेर गाग्रीमा राख्ने डालो माथि पठाउने काम घार काटी नसकिन्जेलसम्म
चलिरह्यो । यी कामहरूका लागि टोलीमा रहेका सदस्यहरूले पहिले गरिएको
कार्य विभाजनअनुसार जिम्मेवारीपूर्वक गर्ने रहेछन् । यसैबिच केहीबेर सानो करिब
दुई किलो जतिको हेलिकोप्टरजस्तो क्यामेरा (Drone Camera) ले समेत छायाङ्कन
गरियो । यसले खिचेको दृश्य सबैले अनौठो मानेर हेरिरहेका थिए ।
भोक लागेकाले कामको आधाआधी हुँदा उनीहरूले आफैले लगेका मकै
भटमास सबै मिलेर वरिपरि बसेर लगाएको टोपीमा राखेर खाए । हामी बिहान
नास्ता मात्र गरेर गएकाले क्याम्पबाट लगिएको पास्ता र पानीले पेट भर्यौँ ।
घारबाट निस्केका मौरी ठुलो आपत् परेको अवस्थामा त्राही त्राही गर्दै घारको
छेउमा गुजुल्टेको अनुभूति सहजै गर्न सकिन्थ्यो । तर भिखौरेहरू भने हामी रामका
सन्तान हौँ । भगवान्ले यसो गर्न सिकाएको हाम्रा पुर्खालाई जीविकाको बाटो
देखाएको बताउँदै थिए । हुन पनि जङ्गली युगमा मानवले खाने बस्ने प्रवन्ध गर्ने
क्रममा मौरीको सिकार पनि सोही समयबाट सुरु हुँदै आएको अनुमान गर्न
सकिन्थ्यो । यसको उदाहरण मह काढ्न हालसम्म प्रयोग भइरहेका उपकरणहरू
पनि परम्परागत नै भएकोबाट प्रस्ट हुन्छ ।
साँझ पर्न पर्न लागेको थियो खोलापारि उडिरहेको कुहिरो धौलागिरितर्फ
लाग्दै थियो । लाग्छ, काम सकेर घर फर्कंदैछ । हामी पनि सामान पोका पारेर
ओरालो झर्यौै । तल झर्ने क्रममा मिर्मिर साँझ परेकाले दिउँसो परेको पानीका
कारण चिप्लो बाटो त्यसमा पनि ओरालो मजस्तो रित्तो हात हिँड्नेलाई पनि
समस्या थियो । पाइला सुस्तरी चाल्दाचाल्दै चिप्लिएर सिस्नोको बुटा समात्न
पुगियो । अब हात त रमरम गर्न थाल्यो । हुन त यो पनि एक प्रकारको थेरापी नै
हो भन्छन् । सहँदै अमिलो मुख लगाएर निङ्गालाको बुटा समात्दै तल झरियो ।
करिब आधा घण्टा झरेपछि खोलामा पुगियो । तर अचम्म बिहान तरेको फड्के
त कता हो कता पानीको भेलले पुरिसकेछ । माथिदेखि केही समय अघि परेको
पानीको प्रभाव । करिब आधा घण्टा माथि पुगेर झुलुङ्गे पुल तरौँ है म त खोला
तर्न सक्दिनँ भनेको तर साथीहरूले हामी तार्दिन्छौँ नि ! भनेर कराउन थाले ।
जीवनमा पहिलो पटक यत्रो ठुलो नदी जुत्ता फुकालेर साथीहरूको सहाराले खुट्टा
कमाउँदै तरेको । बिहान हिउँ पग्लेर आएको चिसो र सेतो पानी रहर लागेर हातले
चलाउँदै गएको तर बेलुका केही धमिलो र चिसो पानी बाध्यताले खुट्टा डुबाउनै
प¥यो । केही तल पुगेपछि साथीहरू कोही अघि कोही पछि हुँदा चाइनिज मित्र मिस
प्लिङ र म मात्र नजिकै थियौँ । हामी हिँड्दाहिड्दै अँध्यारोका कारण बाटो भुलेर
फेरि जङ्गलतिर पुगेछौँ । साथीहरूलाई सिट्टी बजाएर बोलाएपछि मात्र हाम्रो
उद्दार भयो । त्यतिन्जेल हाम्रा शरीरमा काँडाले र खुट्टामा जुकाले सुँड गाडिसकेका
थिए । यसो क्याम्म पुगेर उज्यालोमा हेर्दा गोटा पाँच जुकाले टोकेर मेरो खुट्टाबाट
रगतका थोपा चुहिँदै थिए ।
क्याम्पमा फर्केपछि आगो ताप्नु, तातो चिया खानु र गफ गर्नु नै समय
कटाउने उपाय थियो । नेटवर्कको समस्याका कारण घरमा सम्पर्क नै हुन सकिरहेको
थिएन । इन्टनेट त चल्ने कुरै भएन तर कुन कुनै ठाउँमा खोज्दै जाँदा केही समय
नेटवर्क लाग्थ्यो र सन्चो बिसन्चोसम्म कुरा हुन्थ्यो । मोबाइलले हामीलाई कतिपय
अवस्थामा सुविधा दिए पनि एकप्रकारको भिड र बाँधिएको महसुस भएको र
त्यसबाट मुक्ति पाएको अनुभूति केही दिन मोबाइल नचलाई बस्दाको मेरो अनुभव
बडो आनन्ददायक रह्यो ।
खाना खाँदै टेन्टमा सुतेर कल्पनाको सागर तर्दै फर्कने योजना र तालिका
तयारमा लाग्यौँ । चिनियाँ टोली हेलिकोप्टरमा फर्कने भएकाले हामी केही साथीहरू
बिहानैको नास्ता सँगै बोतलमा साथीभाइ र घरका लागि चाख्ने मह लिएर फिर्र्ती
यात्रा सुरु गर्यौँ । फर्कन पनि जाँदा जस्तै ६ घण्टा लाग्ने निश्चित थियो । उकालो
ओरालो ठाउँठाउँमा आराम गर्दै आठ बजेको यात्रा निरन्तर चल्यो म सबैभन्दा
पछाडि परिरहेकोले हिँड्न अरू साथीभन्दा गाह्रो भएको अनुभूति भइरहेको थियो
तर साथीहरूले कुर्दै पुनः सँगै निरन्तर अघि बढिरह्यौ ँ । हाम्रो सामान बोकेका पाँच
जना भरियाहरू निकै पछि रहेको थिए ।
हामी अनुमानित समयमै दग्नाम पुग्दा दुई बजेको थियो । होटलमा खाना
सकिएकाले चाउमिन र चना पाक्दै थियो । मौसम सदाझैँ कालोनिलो भइसकेको
थियो । भरियाहरू नआइपुगेकाले हामी मात्र फर्कने कुरा पनि भएन र सामान
पानीले भिज्ला भन्ने डर पनि उत्तिकै थियो । सानो छाप्रे होटलकै खाटमा लखतरान
परेर सुतेँ म त । केहीबेरमा असिना र मुसलधारे पानी पर्न थाल्यो । अब म्याग्दी
पुग्ने बाटोमा पहिरो आएर बाटो थुनिएको खबर आयो । यसले हामी रातिसम्म
भए पनि काठमाडौँ पुग्ने योजना त सकियो नै तर बेलुका कहाँ बस्ने र के खाने
भन्ने निश्चय नै थिएन । होटलमा पनि खानेकुरा खासै नहुने रहेछ सुत्ने ठाउँको त
के कुरा । दुई घण्टाको कुराइपछि भरियाहरू पुगे । पानी केही कम भएकाले
उनीहरूले सामान गाडीमा लोड गरिदिए । हामी सानो झोला बोकेर हिँड्न त
गाह्रो उनीहरू सामान बोकेका पसलमा पसेर खाजाको साथमा एक एक क्वाटर
रक्सी तन्काए । राति भए पनि घरै पुग्ने भनेर फर्कें । हामी पनि जे त होला भन्दै
गाडी चढेर म्याग्दी झर्यौँ । नभन्दै आधा घण्टाको यात्रा पछि एक दुई जनाले
पल्टाउनै नसक्ने ढुङ्गा बाटोमा माथिबाट झरेका रहेछन् । दुई शेर्पा साथीहरू, म
र चाइनिज मिलेर तीन स्थानमा बाटो पन्छाउँदै अगाडि बढ्यौँ ।
केहीबेर अघि परेको असिनाले रुख बिरुवा, सागपात, मकैका पात एउटा
पनि राखेनछ । किसानले कति दुःख गरेर हुर्काए र सुत्ला च्याप्ने बेला भएको
मकैको ढोड मात्र बाँकी । के गर्ने प्रकृतिसँग कसको के लाग्छ र । पानी फेरि
निरन्तर परिरहेको थियो । काठमाडौँ पुग्ने सम्भावना टरे पनि ट्रिपल सरको गाडी
हँकाइको रफ्तार तेज नै थियो । किनकी उहाँ भोलि बिहानैको प्लेनबाट मनाङ
जाँदै हुनुहुन्थ्यो । चारैतिरका खोल्साबाट पानीका भेल बगिरहेका थिए । पर्वतको
आमबोटमा तपाईंहरूलाई माछा खुवाउँछु भन्दै गाडी रोक्नुभयो । त्यहीँ हामीले
खानाको साथमा मिठो माछाको स्वाद लियौँ । पोखरा पुग्दा पानी केही थामिएको
थियो । सामानको थान्को सँगै नुहाइधुवाइपछि बिहान पाँच बजे काठमाडौँ निस्कने
सल्लाह गरेर सुत्यौँ । काठमाडौँबाट हामीलाई लिन पुगेका ड्राइभर दिनेश खुबै
सिपालु रहेछन् । उनले पोखराबाट गुडेको छ घण्टामा काठमाडौँको ठमेलस्थित
ट्रिपल सरको होटल ठमेल भिल्ला पुगेर हाम्रो यात्राले विश्राम लियो ।
यात्रा संस्मरणको मुख्य भूमिकामा रहेको छन्त्यालहरूको मूल थातथलो
बागलुङ र म्याग्दी जिल्लाका क्षेत्रहरू भए तापनि सन् २०११ को जनगणनाअनुसार
छन्त्यालहरू १० भन्दा बढी जिल्लाहरूमा छरिएर रहेको देखिन्छ । छन्त्यालको
जनसङ्ख्या ६,५६५ महिला र ५,२४५ गरी कुल ११,८१० रहेको उल्लेख गर्नैपर्नै
हुन्छ । छन्त्याल जातिमा १२ ओटा थरहरू– घरब्जा, तथप्जा, भलञ्जा, पोत्लाङ्गे,
पुराने, डाँडामारे, घ्याप्चन, सिङ्गे, घर्ती, भिंङग्राजा, खड्का र बुढाथोकी रहेका छन् ।
छन्त्यालहरूको सघन बसोबास म्याग्दी जिल्लाको कुइनेमङ्गले, मल्कबाङ,
गुर्जाखानी, पाखापानी, भकिम्ली, बञ्जा, अर्थुङ्गे, ताकम, ओखरबोट, दर्बाङ, अर्मन
र निस्कोट हो । यसरी नै बागलुङ जिल्लाको दमेक, खुङ्खानी, तमान, बोङ्गादोभान,
देवीस्थान, बुर्तिबाङ, अधिकारीचौर, दर्लिङ, धम्जा, अमरभूमि, खुङ्गा, निसी, जलजला,
दगातुनडाँडा, लेखानी र धुल्लुबाँस्कोट, गुल्मी जिल्लाको भार्से, भुर्तुङ्ग (धुवाँखोला),
वामी (मालारानी), बडागाउँ, विसुखर्क, तम्घास खानीगाउँ र दुवीचौर (भङ्गेरी)
हो । यस्तै सुर्खेत जिल्लाको साताखानी, रातु र गर्पन गा.वि.स.हरू रहेका छन् ।
रुकुम जिल्लाको बिर्गुमखानी, फल्नेखानी र प्युठान जिल्लाको स्याउलीवाङ (खारखोला)
र खवाङ, एकराते गाउँहरू पनि सघन बसोबास भएका गाउँ हुन् ।
No comments:
Post a Comment