Sunday, 22 February 2015

नेपाली रंगमञ्चमा देखिएका तरंगहरू
प्रकाश आचार्य 
पृष्ठभूमि 
विश्व प्रसिद्घ नाटककार सेक्सपियरले भनेका छन् पृथ्वी एउटा मञ्च हो  । हामी रंगकर्मी भएर आ–आफ्नो भूमिका निभाइरहेका छौं । बास्तविक जीवनको कालखण्डमा फरक फरक भूमिका गरीरहेको हुन्छन् ।  कतिपय अवस्थामा एकै व्यक्तिले पनि भिन्न भिन्न मूमिकामा प्रस्तुत हुन्छन् । जस्तै एउटै पुरूषलाई जीवनको बिभिन्न समयमा छोरा, दाजु, भाई, श्रीमान्, ज्वार्इँ, बाबु र एउटै महिलालाई छोरी, दिदी, बहिनी, आमा, श्रीमती, बुहारी जस्ता फरक मूभिकामा पाउँछौं । साथै समाजमा व्यापारी, नेता, गृहणी, हाकिम, कारिन्दा, मजदुर, मालिक, शिक्षक, कृषक, समाजसेवी, प्रहरी, चोर, फटाहा आदीको भूमिकामा हुन्छन् । सोही अनुसार इज्जत, सम्मान, पुरस्कार, तिरस्कार, घृणा आदी पाइरहेका हुन्छौं भने रंगमञ्चमा यस्तै यस्तै समाजका व्यक्तित्वहरूको स्वभाव र दिनचर्यालाई अभिनयमा उतारेर रंगकर्मीहरूले वाहवाहई कमाईरहेका हुन्छन् । यसरी प्रस्तुतहुने रंगमञ्चका प्रस्तुतीहरूले समाजमा सकारात्मक सोच ल्याउने, परिवर्तनको वाहक, शिक्षा र ज्ञान प्रवाहित गरिरहेको हुन्छ । यसका साथै दर्शकहरूलाई भरपुर मनोरन्जन पनि प्रदान गरिरहेका हुन्छन् । 

ऐतिहासिक विवेचना 
नेपाली रंगमञ्चको इतिहास हेर्दा विभिन्न कालमा जस्तो जस्तो सांस्किृत, सामाजिक परिवेश र राजनैतिक व्यवस्था हुन्थ्यो त्यसको प्रचार वा गुणगानमा वा विरोधमा समेत रंगमञ्चमा कला प्रस्तुत हुने गरेको    पाईन्छ । किरातकाल, लिच्छवीकाल, मल्लकालहरूमा पनि तत्कालिन परिवेशमा रंगमञ्चमा कला प्रस्तुत हुन्थे । पूर्व कालमा रंगमञ्चको विकासका लागि होस् वा आफ्नो र परिवारको मनोरञ्जनका लागि पनि   राजामहाराजाहरूले नै विदेशी कलाकार्मीहरूलाई भियाएको पाइन्छ । यसरी नाम लिनुपर्दा पर्दा जयप्रकाशमल्ल, प्रताप मल्लहरूलाई लिन सकिन्छ । त्यस वखत विशेष गरी रामायण, महाभारत जस्ता धार्मिक कथामा आधारित रहेर राजप्रासाद, विभिन्न मठ मन्दिर र डवलीहरूमा कला प्रदर्शन हुने गर्थे ।
करिव २००० बर्ष पहिले सुरूभएको हरिसिद्घी गीति नाटक हालसम्म मञ्चन भएकोमध्ये पुरानो मानिन्छ । साथै कार्तिक नाचपनि पुरानो मध्येकै हो जुन आजपर्यन्त पनि प्रस्तुत हुँदै आएको छ । उक्त कलाहरूमा संगीत तथा बाद्यबादन रसको भरपुर मिश्रण पाईन्छ । मल्लकालदेखि नै बिशेष गरी नेवारी, उर्दू तथा मैथिली भाषामा समेत प्रस्तुत हुने गरेको थियो । यसका लागि मुलुक बाहिरबाट पनि कलाकारहरू ल्याउने गरिएको देखिन्छ । वि.सं.१९०० ताका धनबिर मुखीया, शक्तिबल्लव अर्याल, पहलमानसिंह स्वाँर, भैया सिंह गजमेर र नेपाली रंगमञ्चमा भौगोलिक रूपमा दार्जिलिङ्गको पनि योगदान रहेको पाइन्छ । 
आधुनिक नाटकको लेखनमा बालकृष्ण सम लगायतका नाटककारहरूको महत्वपूर्ण योगदान रहेको छ । समले मुटुको व्यथा, प्रल्हाद जस्ता नाटकलेख्नु भएको थियो । गोपाल प्रसाद रिमाल, माधव घिमिरे, बासु सशी, भिमनिधी तिवारी, विजय मल्ल, इन्द्र बहादुर राई, गोबिन्दबहादुर मल्ल, अभि सुवेदी जस्ता नाटककारहरूले लेखेका नाटकहरू आजसम्म पनि रंगमञ्चमा मञ्चन भैरहेका छन् । रंगकर्मीहरूको कुरा गर्दा परिचित अनुहारहरूमा प्रल्हादनामको नाटकमा हरिप्रसाद रिमालले राणाको दरवारमा १४ बर्षको उमेरमा प्रल्हादको भूमिका गर्नु भएको थियो भने मुकुन्द इन्दिरामा पनि वहाँको भूमिका रहेको थियो । आधुनिक रंगमञ्चको इतिहासमा हरिप्रसाद रिमालको योगदान उल्लेखनिय रहेको छ । यसै गरी हरि प्रसाद रिमाल, मिथिला शर्मा, सूर्यमाला शर्मा, सुनिल पोखरेल, निशा शर्मा जस्ता रंगकर्मीहरूको नाम लिन सकिन्छ । रंगमञ्चका निर्देशकहरूको नाम लिनु पर्दा हरिप्रसाद रिमाल, जीतेन्द्र महत अभिलाषी, हरिहर शर्मा, अशेष मल्ल र सुनिल पोखरेल जस्ता अग्रजलाई लिन सकिन्छ । पछिल्लो समयमा आएर, प्रभाकर शर्मा, विरेन्द्र हमाल, खगेन्द्र लामिछाने, अनुप बराल, दयाहाङ्ग राई, सौगात मल्ल जस्ता नामहरू आउँछन् ।

वर्तमान अवस्था 
पछिल्लो समयमा जनचेतनामूलक, रोमाञ्चक, सामाजिक विभेद, राजनैतिक स्वतन्त्रताका लागि आवाज र सामाजिक विकृती प्रति पटाक्षेपहरूमा केन्द्रित रहेका नाटकहरू मञ्चन भैरहेको पाउँछौं । भौगोलिक रूपमा विशेष गरी राजधानी र छिटपुट रूपमा मोफसलमा पनि सडक नाटककै रूपमा भएपनि रंगमञ्चको संस्कृति भित्रिएको पाईन्छ ।
आधुनिक समयमा आएर रंगमञ्चले व्यापारिकता हासील गरेको पाउँछौं । रंगमञ्चको विकासमा २००७ सालमा राष्ट्रिय नाचघर स्थापना भएको थियो । यसैलाई सरकारको पूर्ण स्वामित्वको सांस्कृतिक संस्थानको रूपमा २०२९ असार ५ मा विकास गरियो जसले समय समयमा नाटकहरूको प्रतियोगिता समेत गरेर रंगमञ्चको क्षेत्रमा विशेष योगदान गर्दै आएको छ । यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानको पनि कलाको विकास स्थायित्व, प्रोत्साहन र संरक्षणमा योगदान रहँदै आएको छ । तथापि यस क्षेत्रले अपेक्षा गरे अनुरूपको प्रगति र प्रोत्साहन पाउन नसकेको देखिन्छ । 
वि.सं २०३६ ताका अशेष मल्लबाट निर्देशित मूर्दाबादमा उठेका हातहरू शिर्षकको नाटक त्रि.वि. हलमा मञ्चन भएकोमा तत्कालिन शासनबाट प्रतिबन्ध गरिएको थियो । तर जोसिएका युवाहरूको संयूक्त जमातबाट सर्वनाम समुहको २०३८ मै जन्म भई सर्वनाम नाट्य समुहको रूप लिन पुग्यो जुन हालसम्म पनि रंगमञ्चको क्षेत्रमा क्रियाशिल रहेको छ । लामो समयसम्म सुस्ताएको रंगमञ्चको संस्कृतीलाई कलाकार तथा निर्देशक सुनिल पोखरेल र वहाँको समुह आरोहणको पहलमा २०५९ को बसन्तपञ्चमीदेखि गुरूकुल नाटकघरको स्थापना भएको थियो । यस नाटक घरमा पुराना तथा नयाँ नेपाली नाटकहरूका साथै विदेशी भाषाका नाटकहरूको नेपाली रूपान्तरण समेत प्रस्तुत गर्ने गरेको थियो । तर हाल उक्त नाटकघर स्थानान्तरणका कारण बन्द भए पनि गुरूकुल संचालन गर्ने आरोहण समुहले मण्डला नाटकघर र अन्य थिएटरहरूमा नाटक मञ्चन गर्दै आएको छ । गुरूकुलले अनगिन्ती कलाकार तथा निर्देशकहरूको जन्म गराउनुका साथै मर्न लागेको रंगमञ्चलाई संरक्षण गरेको कुरामा दुईमत छैन । हाल काठमाडौंमा निजी क्षेत्रबाट नाटक घर स्थापना गर्ने बाढी नै आएको  छ । मुख्य नाटकघरहरूमा सुनधारा स्थित काठमाडौं मलमा अवस्थित थिएटर मल, लाजिम्पाट उत्तर ढोकामा अवस्थीत थिएटर भिलेज, बत्तिसपुतली गोठालेघर (गोविन्द बहादुर मल्लको सम्झना)मा अवस्थित शिल्पी थिएटर, कालिका स्थानमा अवस्थित सर्वनाम नाट्यघर र अनामनगर (सिंहदरवार पूर्वढोका) अवस्थित मण्डला नाटकघर संचालनमा आएका छन् । विभिन्न नाट्यघरहरूमा आफ्ना प्रस्तुतीहरू प्रस्तुत गरी कला प्रदर्शन गर्न नाटकघर नभएका अनगिन्ती कलासमुह पनि आफूलाई खार्दै रंगमञ्चमा कला प्रदर्शन गरिरहेका छन् । 

हालै मञ्चनभएका केही नाटकहरूको विष्लेशण
उपत्यका भित्र संचालनमा रहेका थिएटर मल, थिएटर भिलेज, शिल्पी थिएटर, सर्वनाम नाट्यघर र मण्डला नाट्कघरहरूले  बढ्दो नेपाल तथा विदेशी फिल्मको प्रभावलाई चिर्दै काठमाडौंका दर्शकहरूलाई आफू तिर तान्न सफल भएका छन् । पुसको कठ्याग्रिने जाडोमा काठमाडौैका सबै जसो नाटकघरहरूमा मञ्चन भएका नाटकहरू एक सातादेखि बीसदिनसम्म चल्न सफल भएका छन् । यसरी प्रस्तुत भएका सबैजसो नाटक हेर्ने दर्शकले फरक अनुभूति गर्नुका साथै भरपुर मनोरञ्जन लिएको विचार व्यक्त गर्ने गरेको पाईएको छ । यसै सिलसिलामा पंक्तिकारले प्रत्यक्षरूपमा हेर्ने अवसर प्राप्त गरेको तीन नाटकको संक्षिप्त विश्लेषण यहाँ  गरिएको छ । 
१.
थिएटर भिलेज, उत्तर ढोका मार्ग, लाजिम्पाटमा रहेको नाट्यघरमा पुस १३ देखि २६ गतेसम्मसाँझ पाँच बजेबाट खगेन्द्र लामिछानेद्वारा निर्देशित नाटक “पीडा गीत” प्रस्तुत गरिएको थियो । उक्त नाटक टुकी आर्टस्ले प्रस्तुत गरेको थियो । टुकी आर्टस् सिनेमा निर्माण गर्ने कम्पनी भएपनि नाटकमा यस संस्थाको पहिलो प्रस्तुती हो भने पीडा गीत नाटकको नयाँ संस्करण यस आर्टस्ले प्रस्तुत गरेको हो । 
यो नाटक द्वन्द्व समयको एक प्रतिनिधि पात्रको रूपमा दलबहादुरलाई केन्द्र बनाएर निर्माण गरिएको  छ । माओवादी सशस्त्र द्वन्द्वका बेला दलबहादुरका छोराछोरी, श्रीमती र आफन्तहरू मारिन्छन् । एक्लो दलबहादुर शहर पस्छ । शहरमा बाँच्नका लागि संघर्ष गर्छ । एक दिन शहरको चोकमा विदेश जान हिँडेको ठिटो भेट     हुन्छ । ठीटोले दलबहादुरसँग आत्मीय व्यवहार देखाएपछि दलबहादुरले आफ्नो जीवन संघर्षको कथा ठिटोलाई उक्त नाटकमा सुनाउँछ । यसबाट द्वन्द्वमा परेकाहरूको पीडाको यथार्थता यस नाटक हेरीरहँदा अनुभूती नगरी नहुने परिस्थीती श्रृजना हुन्छ । यस नाटक गुरूकुलले आयोजना गरेको आरोहण राष्ट्रिय नाटक महोत्सवमा नाटक पीडा गीत पहिलो पटक मञ्चन भएको हो । यो नाटक अन्तराष्ट्रिय महोत्सव २००९ मा पनि प्रदर्शन भइसकेको रहेछ । लेखन तथा निर्देशन दुवै खगेन्द्र लामिछानेको थियो । यस नाटक हेर्नेको मन दलबहादुरको अभिनयले कहीँ न कहीँ कटक्क काटेकै हुनु पर्छ । नाटक हेरेपछि हालै विदेशिइरहेका युवाहरूको ताँती र विगतको द्वन्द्वको घाउको यथार्थ अनुभूति पंक्तिकारले साक्षत्कार गरेको थियो । 

२.
नाटककार सत्यमोहन जोशीको नेवारी लोककथामा आधारित संगीत नाटक “धोँच्वलेचा” पुस ३ देखि २१ गते सम्म गोठाले नाटकघर, शिल्पी थिएटरमा प्रस्तुत भएको थियो । उक्त नाटकको नेपाली अनुवाद रचना श्रेष्ठ (रेडियो नेपालकी नेवारी समाचार बाचिका), संगीतिक श्रृजना श्रीती प्रधान र निर्देशन श्री पशुपती राईले गर्नु भएको थियो । नाटकका सबै जसो पक्ष सबल थिए । यसका कला प्रदर्शन गर्ने कलाकारहरू रगंमञ्चबाटै खारिएर आउनुभएको प्रतिभाहरू हुनु हुन्छ । नाटक मञ्चनको शुरूमा बेखानारायण र बालामै (वेखानारायणकी कान्छी श्रीमती)  वीचको नेवारी लवजमा वार्तालाप र नेवारी संस्कृति झल्कने मञ्चको सजावटबाट सुरू हुन्छ । नाटकमा बेखामानको जेठी पट्टिकी छोरी पुनथकुमैलाई र आफ्नी छोरी(याच्छुमै) लाई आमा (बालामै) ले खानपीन, बोलीचाली र घरायसी काममा भेदभाव पूर्ण व्यवहार गरेको प्रष्ट देखिन्छ । जुनकुरा श्रीमान्ले चाल नपाउने पाराबाट बालामैले गरेकी हुन्छिन । उनीहरूको घरमा पालेको जादुयी बाख्राले त्यो व्यवहार चित्त नबुझी पुनथकुमैलाई माया गर्ने र मीठामीठा खाना उत्पत्ति गरी दिने गर्छे । त्यो कुरा चालपाएर आमाले बाख्राको बली दिन्छे । पुनथकुमलाई बाख्राले आफ्नो हड्डी लगेर गाड्नु त्यसमा यमरी फल्छ भनेकोले उसले त्यसै गर्छे । केही समय पछि उक्त रूखमा यमरी फल्छ र त्यो उसले खान्छे । 
पुनथकुमैले मुसालाई रोटी दिएर उसको सुचनाको आधारमा गहना भेट्छे र राक्षस आउने थाहापाएर  भाग्छे । सौतेनी छोरीले गहना ल्याएको थाहा पाएर अति मायाँ गरेको नाटक गरी गहना आफूले लिन्छे । आफ्नी छोरीलाई पनि गहना लिन पठाउँदा मुसालाई खान नदिएकोले मुसाले राक्षस आउने कुरा भन्दैन र अन्तमा बालामैकी आफ्नी छोरी याच्छुमैको मृत्युको खवर कागले दिन्छ । यसरी अनगिन्ती रोचक कथाका रचनाकर्ता सत्यमोहन जोशीले लेख्नु भएको यस कथामा सबै कलाकारहरूले धाराप्रवाह अभिनय गरेर जीवन्तता दिने प्रयास गर्नु भएको छ । लोभ गर्नाको फल कस्तो हुन्छ साथै गलत सोचको हार र सत्यको जित हुने कुरा प्रस्तुत छ । 
३.
नाटककार विजय मल्लले २०१५ सालको हाराहारीमा लेख्नु भएको नाटक “कोही किन बरवाद होस्” वर्तमान परिवेशमा परिमार्जित गरी पौष ११ देखि ३० गतेसम्म मण्डला नाटकघरमा मञ्चन भएको थियो । उक्त नाटककोशंकर रिजालले निर्देशन गर्नु भएको थियो । सुनील पोखरेलले सुन्दर (प्रिन्सिपल) को भूमिका गर्नु भएको थियो । यस कथा बाल मनोविज्ञानमा आधारीत भएर बनेको छ । जसमा मुख्य केन्द्र ध्रुब जसकी आमाले अर्को विवाह गरेकी हुन्छे बाबुबाट आवाशीय विद्यालयमा राखिएको बालक ध्रुवमा आमा नहुनुका पीडा र ममताको अभावले बदमासी गर्ने, साथीहरूलाई दुःख दिने, एकोहोरो भएर बस्ने, उपद्रोहहरू गर्ने स्वभाव   हुन्छ । राम्रोसँग अध्ययन समेत नगर्ने हुँदा सुन्दर सरले उसले सानोमा आमाको अनुहार समेत नदेखेको हुँदा विद्यालयकी कमला मिसलाई नै आमा हो तिमी सुध्रियौ भने म आमा देखाईदिन्छु भन्छन् । सरले अझै फकाउँदै तिमीले राम्रो बने आमाले पनि माया गर्नु हुन्छ र साथीहरूले पनि माया गर्ने लोभ देखाउँछन् । ध्रुव आमा पाएमा परिवर्तन हुने बचन दिन्छ । तर अविवाहित कमला मिसलाई आमा मै हुँ भनेर अभिनय गर्नुस् भन्ने प्रिन्सिपलको प्रस्ताव मान्न धेरै समय लाग्छ । अन्तमा उनि उक्त भूमिकामा देखिन्छिन जसको प्रभाव ध्रवमा सकारात्मक हुन्छ । ध्रुवको आनीबानीमा अनौठो सुधार देखा पर्छ । ध्रुवको साथीभाईसँगको सम्बन्ध, अध्ययनमा मात्र सुधार नभएर एक जिम्मेवार व्यक्तिको व्यवहार गर्न समेत सक्षम हुन्छ । तर अनायास कथाले अर्को मोड लिन्छ । “मेरी आमा विद्यालयमा नै हुनहुँदोरहेछ बुवा तपाईले मलाई भन्नु भएन” भनेर ध्रुवले उसको बुबालाई भन्दा ध्रुवका बाबुले आफुलाई छाडेर गएकी श्रीमति छोरा भेट्न आई र विद्यालयले किन भेट्न दियो भन्ने विषयमा पोखेको आक्रोस र पछि आमाको अभिनयमा विद्यालय शिक्षीकाले देखाएको उदारताको फलबाट छोरामा आएको अनपेक्षित सुधारका कारण लज्जा बोधका साथै खुशी व्यक्त गर्छन । पटक पटक कथाले दर्शकलाई भावुक बनाउनुका साथै पालेको भूमिकामा रहेको घनश्यामको भूमिकाले दर्शकलाई हाँसो रोक्न मुश्किल पर्छ । कमला मिस अविवाहित भएपनि ध्रुव प्रतिको भावनात्मकताको परिवर्तन र ध्रुवले पनि मेरी आमा यिनै हुन् भन्ने माने पश्चात ध्रवले पढाइ सकेर स्कुल छोड्न धेरै कठिनाइ पर्छ । कमला मिस असली आमा नभएर बानी सुधार्न गरिएको प्रयास हो भन्दा धु्रवको मायालु रोदनले सबैको आँखा रसाउँछन साथै ध्रुवको र कमला मिसको विछोड्ले सबैको मुटुमा चस्का लगाउँछ । यसरी यस नाटकमा बाल बालिकामा प्रेम, मातृत्वले पार्ने प्रभाव र अभिभावकको दायित्वलाई नाटकमा प्रस्तुत गरिनुका साथै विद्यालयले विद्यार्थीको मनोविज्ञान बुझ्नुपर्ने कुरा समेत झल्काएको छ । निकै पहिले लेखिएको कथा भएर पनि वर्तमान समयमा पनि अत्यन्तै सन्दर्भिक देखिन्छ । 

नाटक प्रबर्धनमा खेलिनुपर्ने भूमिका
नेपाली आधुनिक रंगमञ्चको इतिहास खासै पुरानो नभएको र यसको बजार विस्तार हुन नसकेको अवस्थामा विस्तारै बढ्नलागेको यसक्षेत्रलाई सम्बन्धीत सबै क्षेत्रबाट संरक्षण, सम्बर्धन र विकासका लागि अझै मेहनत गर्नु आवश्यक रहेको छ । विशेष गरी सरकार र सरकारबाट कला संस्कृति क्षेत्र हेर्ने विभाग तथा प्रतिष्ठानले यसका लागी आवश्यक पूर्वाधार, आवश्यक नीति नियमको व्यवस्था गर्नु पर्ने देखिन्छ । पछिल्लो समयमा मरिसकेको रंगमञ्चको संस्कृति पुनः बिउँझेको अवस्थामा फेरी मर्न नदिन के कस्ता उपाय अपनाउनु पर्छ सो को पहिचान गरी व्यवहारमा उतार्नु आवश्यक हुन्छ । यदि यसो गरिएन भने विगतमा केही सिनेमाहलहरूले पैसा कमाएको देखेर विना अनुमान र अध्ययन खुलेका अनगिन्ती सिनेमाहलहरू केही समय पश्चातः गोदाम, पार्टी प्यालेसमा परिवर्तन भए वा भत्काइएको यथार्थ रंगमञ्चमा पूनरावृती नहोला भन्न सकिन्न । संचालनमा रहेका नाट्यघरहरूलाई विकसित हुनका लागि सरकारको तर्फबाट सुविधा तथा सहुलीयत उपलब्ध गराउनु आवश्यक हुन्छ भने नाटकघरहरूले पनि आधुनीक मलहरूमा खुलेका सिनेमाघरहरूमा दिइने सुविधा र आम दर्शकमा विदेशी सिनेमा प्रति देखिएको आर्कषणका कारण नाटकघरहरूले बेहोर्नु पर्ने चुनौतिको सामना गर्न तयार भै आफ्नो प्रचार प्रसार गर्नु अपरिहार्य देखिन्छ । जसका लागि मौलिकता, कलात्मकता, रचनात्मकता, समय सापेक्ष आधुनिकता, भरपुर मनोरञ्जन र प्रयोग हुने सामग्री तथा प्राविधिमा  गुणस्तरियतामा सुधार गरी कडा प्रतिस्पर्धामा ओर्लनु आजको माग रहेको देखिन्छ । 
त्यस्तै रंगमञ्चमा आउन चाहने नाटककार, निर्देशक तथा कलाकारहरूको लागि प्रोत्साहन गर्न अध्ययन, प्रशिक्षण तथा तालिम दिने निकायको तत्काल आवश्यकता देखिन्ंछ । रंगकर्मीको खोज, उत्पादन र संरक्षणका लागि देशैभरी समय समयमा अभियान संचालन र प्रतिस्पर्धा गराउनुपर्छ जसबाट कुना कुनामा लुकेर रहेका प्रतिभाहरूले फल्ने फुल्ने मौका पाउने छन् । 
यस पेशालाई मर्यादित र जीविकोपार्जन गर्न सक्ने बनाउँदै स्तरीयतामा बृद्घि गर्नसके कलाको संरक्षण हुनुका साथै यो एउटा पेशाको रूपमा विकास हुने देखिन्छ । यस पेशामा लाग्ने रंगकर्मीलाई आकर्षित गर्न कलाकारको विमा, स्वास्थ्य उपचार सुविधा, विदेश भ्रमण तथा तालिमको व्यवस्था र उत्कृष्ट व्यक्तित्वहरूलाई पुरस्कारको व्यवस्था सरकारको तर्फबाट हुनु पर्ने देखिन्छ ।
नाटकमार्फत विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई पनि समय सान्दर्भिक ज्ञान र मनोरञ्जन दिन पर्ने देखिन्छ यसबाट कलाको संरक्षण हुनुका साथै सानै उमेरदेखि यस विषयमा उनिहरूको चाख रहने र सिक्ने भिन्न तरिकाको प्रयोग हुन सक्छ । आम जनताले पनि पर–संस्कृतिलाई टेवा पुग्ने गरी विदेशी सिनेमाबाट मात्र मनोरञ्जन लिनुको साटो आफ्नै माटोको उब्जनी अर्थात कला, संस्कृति र कलाकारको उपजलाई माया गर्दै समय समयमा साथीभाई, परिवार सहितरंगमञ्चमा मञ्चन भएका नाटकहरूको दर्शक बनेर मनोरञ्जन लिँदै यस क्षेत्रलाई प्रोत्साहित गर्नु हुनेछ भन्ने पंक्तिकारको विचार रहेको छ । 
अन्तमा आउँदा दिनहरूमा पनि हाल स्थापना भएको नाटकघरहरूले नेपाली रंगमञ्चको इतिहासलाई कायम राख्दै निरन्तरता दिन समसामयिक, बस्तुपरक र समाजमा सकारात्मक प्रभाव पर्ने कथामा कला प्रस्तुत गर्न सकुन् जसमा पाइताला राखेर सयौं कलाकारहरूले आफ्नो कला प्रस्फुटित गर्ने अवसर प्राप्त गर्दै उनिहरूले भरपुर मेहनत गर्ने छन् । यसका लागि सरकारी तवरवाट रंगमञ्च क्षेत्रलाई भरपुर ध्यान दिन सके आगामी दिनमा यो क्षेत्रको विकास र प्रबद्र्घन गरी अघिबढ्न हौसला र प्रोत्सान मिल्ने छ । साथै आम दर्शकहरूले पनि भरपुर ज्ञान र मनोरञ्जन लिन सक्ने वातावरण बन्ने छ भन्ने अपेक्षा गर्न सकिन्छ । 

सन्दर्भ सामग्रीहरूः

www. Mandalatheatre.com
www.ekantipure.com/the-kathmandupost .2012.04.08
www. Sanskritiksanthan.org.np
http://www.nepalacademy.org.np/jna/
www. namuda.org.np
www.ratnabooks.com

www.bossnepal.com/bal-krishna-sama




1 comment:

Unknown said...

जानकारीको लागि धन्यवाद । अन्य जानकारीको आश गर्दछु