भ्रष्टाचार निवारक साबुन
प्रकाश आचार्य
इमान, जमान र सदाचार त्यागेर मान्छेहरु
जेथा, आभूषण र द्रब्य मोहमा डुवेका बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई मयल माडीमाडी नुहाइदिने थिएँ ।
सत्य सेवा सुरक्षणम्लाई कलंङ्कित गर्दै
घुषखोरी ब्रिफकेसका लाईन लागेको बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई फिँज निकालेर पखाल्दिने थिएँ ।
घृणित स्वार्थबस् नियम कानूनको दुर्नामकर्ताहरु नै
न्यायेश्वरको मूर्तिमा प्राण प्रतिष्ठा भएको बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई मिचिमिचि पखालिदिने थिएँ ।
गरीवी र विकासका बजेट दामासाहीमा परेर
गर्जोटार्न दाजुहरु मुग्लान पसेका बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई चिसैपानी खन्याएर पखाल्दिने थिएँ ।
श्रम इजाजत् र अध्यागमनका ठेकेदारी अभिष्टले
विक्षिप्त भै चेलीहरु खाडीबाट फर्किएकी बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई तातो पानी खन्याएर पखाल्दिने थिएँ ।
जनसेवक मर्यादा पूरुषका खोल ओढेर
उन्मत्त, उदण्ड औ हरामको राज छाएकोे बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई सिस्नो पानी र साबुन लगाएर पखाल्दिने थिएँ ।
No comments:
Post a Comment